काठमाडौं । चारपाङ्ग्रे सवारी साधनकाे अत्यधिक भीड हुने ठाउँ न्युरोड गेटबाट भित्र प्रवेश गर्ने सवारीलाई आजबाट लागु हुने गरी खुलामञ्चमा पार्किङको व्यवस्था गरिएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार, आज असोज ८ गतेदेखि फुलपातीका दिनसम्म यो व्यवस्था हुनेछ । बिहान १० बजेदेखि साँझ सवारी चाप सामान्य नभएसम्म ट्राफिक आइसलेण्ड राखिएको स्थानबाट डाईभर्शन गरि खुलामञ्चमा पार्किङ गर्ने व्यवस्था मिलाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयले चाडवाडमा दुर्घटनारहित यात्राका लागि शुभकामना व्यक्त गर्दै काठमाडौंको न्युरोड क्षेत्रमा हुने सवारी चापलाई कम गर्न यो व्यवस्था लागु गरिएको ट्राफिक प्रहरीले विज्ञप्तिमार्फत जानकारी दिएको हो ।
तोकिएको मिति र समयसम्म धैर्य गरि ट्राफिक व्यवस्थापनमा सहयोग गरीदिन समेत ट्राफिक कार्यालयको अनुरोध छ ।
