मस्को । रूसको इजेभ्स्क शहरको एक विद्यालयमा सोमबार भएको गोलीकाण्डमा सात बालबालिकासहित कम्तीमा १३ जनाको मृत्यु भएको छ ।
राजधानी मस्कोबाट १२ सय किलोमिटर पूर्वमा रहेको उदमुर्त गणतन्त्रको सहर इजेभस्कमा यो घटना भएको हो। रुसको आन्तरिक मन्त्रालयले टेलिग्राममा एक विज्ञप्ति जारी गर्दै बन्दुकधारीले आत्महत्या गरेको बताएको छ ।
रुसी अनुसन्धान समितिलाई उद्धृत गर्दै तास समाचार एजेन्सी जनाएअनुसार पश्चिमी रुसको उडमुर्त गणतन्त्रको राजधानी इजेभ्स्कको शहरी प्रशासन भवन नजिकै रहेको विद्यालयमा भएको आक्रमणमा सात बालबालिकासहित १३ जनाको मृत्यु भएको छ । घटनामा १४ बालबालिका र अन्य सात जना घाइते भएका छन् ।
यस अघि यहाँको प्रशासनले दिएको जानकारीमा गोली लागी नौ जनाको मृत्यु हुनुका साथै अन्य २० जना घाइते भएको बताइएको थियो । आक्रमणकारीले आत्महत्या गरेको र उसको शव फेला परेको र उसले नाजी चिन्ह अंकित कालो टि-सर्ट र मास्क लगाएको भेटिएको रूसी प्रहरीले जनाएको छ ।
आक्रमणकारीसँग कुनै कागजात नभएकाले पहिचान अस्पष्ट रहेको समितिले जनाएको छ । आक्रमण भएको विद्यालयमा ९८२ विद्यार्थी र ८० शिक्षक रहेका छन् । घटनाप्रति दुःख व्यक्त गर्दै उदमुर्त गणतन्त्रको प्रशासनले सोमबारदेखि तीन दिने शोकको घोषणा गरेको छ ।
हालैका वर्षहरूमा रुसमा विद्यालयमा भएको गोलीकाण्डको शृङ्खलाले राष्ट्रपति भ्लादिमिर पुटिनलाई बन्दुकको स्वामित्वमाथि नियन्त्रण कडा गर्न प्रेरित गरेको छ। गत वर्ष काजानको एक विद्यालयमा भएको गोलीकाण्डमा सात विद्यार्थीसहित नौ जनाको मृत्यु भएको थियो । केही महिनाअघि पनि पर्म स्टेट युनिभर्सिटीमा गोलीबारीमा छ जनाको मृत्यु भयो र दर्जनौं घाइते भए।
