काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)की केन्द्रीय कार्यकारिणी सदस्य चन्दा चौधरी नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् । बुधबार साँझ बालुवाटारमा कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्रीपत्नी आरजु राणाले चौधरीलाई पार्टीको क्रियाशील सदस्यता दिएर स्वागत गरेका हुन् ।
उनी सर्लाही – ४ बाट चुनाव लड्ने सम्भावना रहेको कांग्रेस स्रोतले बताएको छ । सर्लाही-४ अमरेशकुमार सिंहको क्षेत्र हो । यसअघि त्यहाँबाट अमरेशलाई कारबाही गर्दै महामन्त्री गगन थापाको एकल नाम सिफारिस गरिएको थियो ।
महोत्तरी माइती भएकी चौधरीलाई ०७४ मा महन्थ ठाकुर नेतृत्वको तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)ले समानुपातिक सांसद बनाएको थियो ।
चौधरी केपी शर्मा ओली नेतृत्वको सरकारमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनेकी थिइन् । तर, १८ दिनमै उनको पद गएको थियो ।
महोत्तरीबाट राजनीतिमा सक्रिय उनलाई सर्लाही क्षेत्र नम्वर ४ बाट टिकट दिने आश्वासनसहित सभापति देउवाले कांग्रेसमा भित्र्याएको स्रोतको भनाइ छ ।
