काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले नेकपा एमालेप्रति संकेत गर्दै अहिले पनि संविधान उल्ट्याउने कोशिस जारी रहेको बताएका छन् ।
नेता महराले दुई पटकसम्म प्रतिनिधिसभा विघटन गर्नेहरुले नै संविधान कार्यान्वयन गर्न नचाहेको आरोप लगाएका हुन् ।शनिबार रुपन्देहीको लुम्बिनीमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष महराले भने, ‘संविधान कार्यान्वयन गर्न नचाहने तत्वले राष्ट्रपतिलाई प्रयोग गरेर नागरिकता विधेयक प्रमाणीकरणमा अवरोध गरेका छन्, यो राष्ट्रको हित विपरित छ ।’ संविधानको रक्षाको लागि परिवर्तनकारी शक्ति एकजुट हुनुपर्ने उनले उल्लेख गरे ।
अहिलेको पाँच दलीय गठबन्धन संविधानको रक्षा र प्रतिगमनलाई परास्त गर्ने एकीकृत शक्ति भएको महराले उल्लेख गरे । यो गठबन्धन परिवर्तनकारी शक्तिहरूको मोर्चा भएको उनको भनाइ छ ।
