लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकारी अध्यक्षको भूमिकामा रविना थापा आएकी छन् । संघको गत मार्च महिनामा सम्पन्न १० औं महाधिवेशनको म्यान्डेटअनुरुप थापाले आइतबारदेखि संघको कार्यकारी अध्यक्ष सम्हालेकी हुन् ।
उक्त महाधिवेशनले बहुपदीय प्रणालीअनुरुप पहिलो ६ महिनाको कार्यकारी भूमिका कुल आचार्यलाई दिएको थियो । संघको शनिबार भर्चुअल माध्यमबाट सम्पन्न पदाधिकारी बैठकमा बोल्दै आचार्यले महाधिवेशनको म्यान्डेटअनुरुप आफूले थापालाई कार्यकारी पद हस्तान्तरण गरेको जानकारी दिएका थिए ।
बैठकमा कार्यकारी अध्यक्ष थापाले पछिल्लो ६ महिनामा आचार्यले संघको लागि गरेको योगदानको प्रशंसा गरेकी थिइन् । आचार्य अब संघभित्र सेरोमोनियल अध्यक्षका रुपमा कायम रहनेछन् भने ६ महिनापछि अर्का अध्यक्ष डा. बद्री केसीले कार्यकारी भूमिका निर्वाह गर्दै संघको अर्को वर्षको अक्टोबरमा हुने ११औं महाधिवेशनमा औपचारिक रुपमा नेतृत्व हस्तान्तरण गर्नेछन् ।
