काभ्रे । जिल्लाको रोशी गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका तीन हजार सात सय ज्येष्ठ नागरिकको बिमा गर्न अभियान सञ्चालन गरेको छ । निःशुल्क ज्येष्ठ नागरिकको स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत गाउँपालिकाको बाह्रैवटा वडामा अभिकर्तासमेत परिचालन गरिएको छ ।
गाउँपालिकाले प्रत्येक वडामा एक अभिकर्ता परिचालन गरी कार्यक्रम सुरु गरेको हो । हाल जनगणना, २०७८ को प्रारम्भिक तथ्याङ्कमा सूचीकृत भएका गाउँपालिकाको तीन हजार सात सय ज्येष्ठ नागरिकलाई कार्यक्रममा समेटिने जनाइएको छ ।
‘ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरेका छौँ, सबै वडाका तीन हजार सात सयको बिमा गर्ने योजना बनाएका हौँ’, गाउँपालिकाका प्रमुख दिनेश लामाले भने ।
लामाका अनुसार गाउँपालिकाको ६० वर्षमाथि उमेर समूहका वृद्धवृद्धाको निःशुल्क बिमा गर्न थालिएको हो । लामा थप्छन्, ‘चुनावमा गरिएको प्रतिबद्धताअनुसार नै वृद्धवृद्धाको निःशुल्क बिमा कार्यक्रम सञ्चालन गरेका हौँ ।’
बिमा कार्यक्रमअन्तर्गत एक ज्येष्ठ नागरिकको स्वास्थ्य बिमा गर्दा परिवारका चार जनाको बिमा हुने अभिकर्ता चेतबहादुर लामाले जानकारी दिए । उनका अनुसार घरघरमै पुगेर गाउँपालिकाको अभिकर्ताले ज्येष्ठ नागरिकको स्वास्थ्य बिमा गर्नेछन् ।
तीन हजार सात सय ज्येष्ठ नागरिकको बिमा गर्दा १८ हजार पाँच सय स्थानीयवासीको बिमा हुने जनाइएको छ । स्वास्थ्य बिमा गर्दा स्वास्थ्य उपचारमा पर्ने आर्थिक भारलाई न्यूनीकरण गर्न यस कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
कार्यक्रमअन्तर्गत आकस्मिक सेवा, बहिरङ, अन्तरङ, एचआइभी, हेपटाइटिस, कुष्ठरोग, क्यान्सरलगायत स्वास्थ्य क्षेत्रमा पर्ने असर र त्यसको आर्थिक भार न्यूनीकरण गर्न स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी देखिएको छ ।
रोशी गाउँपालिकमा छ हजार ३९ परिवारमा २३ हजार पाँच सय ५१ जना रहेका छन् । निःशुल्क बिमा कार्यक्रमले ज्येष्ठ नागरिकसहित गाउँपालिकाको कूल जनसङ्ख्याको ७८ दशमलव ५५ प्रतिशतलाई समेट्नेछ । यसअघि गाउँपालिकाले गम्भीर प्रकृतिका बिरामीलाई मासिक पाँच हजार दिने निर्णय गरी प्रदान गर्दै आएको छ ।
बिरामीलाई औषधोपचारमा सहयोग होस् भन्ने उद्देश्यले गम्भीर प्रकृतिअन्तर्गत मिर्गौला प्रत्यारोपण गराएका, डायलाइसिस गराइरहेका मिर्गौला रोगी, विभिन्न क्यान्सर तथा मेरुदण्ड पक्षघातका प्रत्येक बिरामीलाई मासिक पाँच हजार उपलब्ध गराउन थालेको हो ।
