काठमाडौं । डाक्टर अर्थात् चिकित्सक । जसको काम बिरामीलाई निको पार्नु हो । बचाउनु हो । जीवित रहने औषधि दिने हो । तर, एकजना यस्ता डाक्टर छन् जो मान्छेको मात्रै चिरफार गर्दैनन् दराका समस्याको पनि चिरफार गर्छन् । अँधेरमा हराएको ‘समाधान’लाई टुकी लगाएर खोज्छन् ।
मतलब, जहाँ राज्यको नजर पुग्दैन । सत्ताको नजर पुग्दैन । शक्तिको नजर पुग्दैन त्यहाँ ती डाक्टर पुग्छन् । त्यस्ता दराहरुमा व्यक्तिगत खर्चले निःशुल्क स्वास्थ्य शिविर चलाएर बालबालिकालाई नयाँ जीवन दिन्छन् । स्वस्थ बनाउँछन् । जनचेतना फैलाउँछन् ।
उनैको नाम हो डाक्टर नवराज केसी । उनी प्रदेश अस्पताल सुर्खेतमा बालरोग विशेषज्ञका रुपमा कार्यरत छन् । उनी डाक्टरको रुपमा मात्रै नभइ समाजसेवीका रुपमा पनि देखिन्छन् । डाक्टर भनेर सरकारले दिएको ‘दुर्गम भत्ता’ उनको खातामा कहिल्यै रहँदैन । कि, दीनदुःखीको खातामा जान्छ कि पेटमा ।
सुर्खेतमा कार्यरत भए पनि कर्णालीका दसैँ जिल्लामा पुग्छन् उनी । अनि कहिलेकाहीँ कर्णालीको समस्या र वास्तविकतालाई साहित्यमार्फत सुनाउँछन्,‘मरेर स्वर्ग जाने होइन, जन्मभूमीलाई स्वर्ग बनाएर मर्ने हो । यो दसैँमा घर फर्कदा गाउँमै केही गर्न सकिन्छ कि भन्ने सोच्नु होला ।’ यो उनको दसैँको शुभकामना हो । जुम्लास्थित नेपाली भाषाको उद्गमस्थल सिञ्जाका महिलाको जनजीवनलाई देखाउँदै सामाजिक सञ्जालमार्फत दसैँको शुभकामना दिएका हुन् ।

उनलाई डाक्टर र समाजसेवीका रुपमा मात्रै चिनिदैन । अर्को पाटो पनि छ । जसलाई साहित्य भनिन्छ । साहित्य प्रेमीहरु उनलाई साहित्यकारका रुपमा पनि देख्ने गर्छन् । अवसर मिले ती डाक्टर कविता लेख्न पछि पर्दैनन् । गजल लेख्न पछि पर्दैनन् । अन्य साहित्यका धेरै विधा उनलाई आउँछ । चिठी झनै लेख्छन् ।
यो थाहा पाउन एकपटक कर्णाली उत्सवतिर लागौँ । दोस्रो संस्करणमा उनी वक्ता थिए । डाक्टर केसीसहितका वक्ताका लागि शीर्षक ‘छाउ र भाउ’ थियो । त्यसैमा केन्द्रित रहेर समस्या र समाधानको पाटो केलाउनुपर्ने थियो । तर, डाक्टर केसीले कार्यक्रममा आफुले सधैँ चेकजाँच गरिरहेककी गर्भवतीको कथा सुनाए ।
कथा विक्षिप्त थियो । नारी कसैको अँगालोमा बाँधिनुअघि र पछि कति फरक हुन्छ ? एकपटक उनैले सुनाएको कथाले जो कोहीलाई भतभती पोल्छ । श्रीमानले नकुटेको दिन थिएन । नपिटेको दिन थिएन । जोसँग आँशु नबगेको रात थिएन । चोटहरु नभएको शरिर थिएन । त्यसमाथि पनि गर्भावस्था । आखिर कसरी बित्दै थियो ती महिलाको दीन ? सोच्न सकिँदैन ।
डाक्टर केसीले लेखेको त्यो चिठीमा खासै तामझाम केही थिएन तर केही शब्दहरु जरुर थिए । जसले गर्भवती महिलामाथि हिंसा गरिरहेको पुरुषको कम्पास सही र परिर्वतनको दिशामा पुर्याइदियो ।
चिठी यस्तो थियो :
‘प्रिय बुवा
म अहिले आमाको काखभित्र खेलिरहेको छु । सुरक्षित छु । खेल्न धेरे ठाउँहरु छ यहाँ । म बाहिर आएर तपाईंको हात समातेर स्कुल जान आतुर छु । तपाईंको काखमा खेल्न आतुर छु । मेरो बुवालाई भेट्न आतुर छ । तर, मेरो बुवा बेलुका ७ बजेपछि मलाई कसैले घाँटी च्यापेको जस्तो लाग्छ । कसैले मलाई मार्दिन–मार्दिन खोजेको जस्तो लाग्छ । मेरो आमाको वरिपरि मेरो बुवा हुँदाहुँदै कसले यस्तो गरेको होला र रु मलाई त यो कुरामा विश्वास लाग्दैन । मेरो आमाको सुरक्षा गरिदिनुहोला हैं । किन भने उहाँकै पेट मेरो घर हो ।’
यहीँ चिठी हो । जसले परिवर्तन मात्रै गराएन सुन्न र पढ्नेको जमात डाक्टर केसीले थेग्न सकेनन् । समाजमा हुने महिलामाथिका हिंसालाई ओकलिएको चिठी त्यो । चिठीले हिंसा खेपिरहेकी महिलाले मुक्ति समेत पाइन् । पेटमा हुर्किदै गरेको बच्चा, टाउकोमा राता र निला घाउसहित थकित भएर डाक्टर भेट्न आउने ती महिला पछि ‘डाक्साब त्यो चिठीमा के लेख्नुभएको थियो’ भन्ने प्रश्नसहित खुसी भएर भेट्न आइन् । ती हुनु डाक्टर नवराज केसी ।
अहिलेसम्म उनलाई डाक्टर मात्र नभइ समाजसेवी र साहित्यकारको उपमा दियौँ । अब उनलाई फोटोग्राफरका रुपमा हेरौं । डाक्टर केसी, सधैँ गरिबी, अभाव र झुत्रो तस्बिर मात्रै देखाउँदैनन् कर्णालीको वास्तविकता र सम्भावनालाई उजागर गर्छन् । त्यसैको फेरोमा घुम्दै तेस्रो आँखा डटकमको शृंखला ‘फोटो बोल्छ’मा डाक्टर केसीले विभिन्न ठाउँमा पुगेर खिचेका तस्बिरको भारीसहित ‘फोटो बोल्छ’ शृंखलाका भरिया तपाईंको चौतारोतिरै बस्यौँ :

दैलेखको सानीद्वारी झरना ।

९ महिना भारतको कालापहाड बस्ने । ३ महिनाका लागि मात्रै नेपालको धर्तीमा सास फेर्न सुर्खेत इखेनीवासी ।

भेरीको चिसो र धारिलो बेगमा चुहिने टाएरमाथि परिवारको पेट भर्न माछा मार्दै गरेकी महिला ।

काञ्जिरोवा हिमाल । कर्णालीको सबैभन्दा अग्लो हिमशृंखला दोस्रो कैलाश ।

जुम्लादेखि डोल्पा जाने भिरालो र भत्किएको बाटो बनाउन ढुङ्गा बोक्दै गरेका महिला ।

रिअल डोल्पा कर्णालीका पहाड

धमिलो भेरीमा रमाउन सक्ने सङ्लोहरु ।

भेरी नदीको पानी बोक्दै सुर्खेत बाराहातालस्थित इखेनी गाउँका बालबालिका ।

काठका रहस्यमय आकृतिहरुमा रमाइरहेका बालक ।

काठका रहस्यमय आकृतिहरुमा रमाइरहेका बालक ।

रुकुम पश्चिम र जाजरकोटको सीमानामा पर्ने सानी भेरीका ‘पानी घट्ट’
(यो शृंखलामा छानेका तस्बिर तपाईंलाई कस्तो लाग्यो कुन्नि ? तपाईंसँग पनि यस्तै तस्बिर छन् भने [email protected] मा पठाउनुहोस् हैँ । तपाईंका तस्बिर ‘फोटो बोल्छ’ शृंखलामा प्राथमिकताका साथ प्रकाशित गर्नेछौं । पहिलो शृंखलाका फोटो हेर्न, क्याप्सन पढ्न ‘यहाँ’ थिच्नुहोला ।)
