काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक आज पनि बस्दै छ । सिट बाँडफाँडमा सहमति जुटाउन यसअघि सोमवार बसेको बैठक निष्कर्षविहीन बनेपछि आज पुनः बैठक बस्न लागेको हो ।
आजको बैठकबाट अन्तिम टुंगो लगाउने तयारी दलहरूको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बैठक बस्नेछ ।
सिट बाँडफाँटका लागि सत्तारूढ पाँच दलीय गठबन्धनले ११ सदस्यीय कार्यदल गठन गरेको असोज २० गते दुई महिना पुग्दै छ । गएको साउन २० गते कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको नेतृत्वका सिट बाँडफाँटका लागि कार्यदल गठन गरिएको थियो ।
त्यतिबेला साउन अन्तिमसम्म सिट बाँडफाँटको टुंगो लगाउने भनिएको थियो । तर, दुई महिना पुगिसक्दा पनि गठबन्धनले भागबन्डा मिलाउन सकेको छैन ।
