काठमाडौं । बिहीवार बिहान नारायणी नदीमा बहाव सतर्कता तह नजिक पुगेको छ । बाढी पूर्वानुमान महाशाखाले देबघाट बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह ७.३ मि. नजिक पुगेको बिहीवार बिहान जानकारी दिएको हो ।
चितवन र नवलपरासीको तटिय क्षेत्रमा हुनेहरू आज साँझसम्म उच्च सतर्कता साथ सुरक्षित स्थानमा रहन महाशाखाले आग्रह गरेको छ । थप बर्षा हुने सम्भावना रहेको समेत महाशाखाले जनाएको छ ।
नारायणी नदीमा पानीको सतह ७.३ मिटरलाई सतर्कता तहको बिन्दु मानिएको छ भने नौ मिटरलाई खतराको तह मानिएको छ। नारायणी नदीमा पानीको बहाव अहिले पनि निरन्तर बढ्दो क्रममा रहेको बाढी मापन केन्द्रले जनाएको छ।
