काठमाडौं । दसैँ सकिएको छैन । दशमी मात्रै सकिएको हो । तर, यसपालिको दसैँ भने बाढी–पहिरोले मनाउन दिएन । न पिङ खेल्न दियो न आफन्त भेट्न । भेटघाटमा निस्किएका पाहुनासमेत जहाँको त्यहीँ थुनिएका छन् । निरन्तर वर्षा मात्रै भइरहेको छैन पूर्वदेखि पश्चिमसम्म बाढी–पहिरोले वितण्डा मच्चाइरहेको छ । प्युठानको पहिरोमा पुरिएर ६ जना बेपत्ता भएका छन् ।
यस्तै बाँकेको नरैनापुर गाँउपालिकामा दुई सय घरमा बाढीले पूर्णरुपमा क्षति पुर्याएको छ । यसबाट हजारभन्दा बढी स्थानीय प्रत्यक्ष रुपमा प्रभावित भएका छन् । कर्णालीमा पनि बाढी–पहिरोको वितण्डा उस्तै छ ।
प्रदेश राजधानी वीरेन्द्रनगर नगरपालिका–९ को पर्सेनी, लबस्ता, तीलपुर, इटौरा, घोग्रेनीलगायतका क्षेत्र डुबानमा परेका छन् । त्यति मात्रै नभइ अविरल वर्षापछिको बाढी–पहिरोले कतै शोक निम्त्याएको छ त कतै भोक । जसको वितण्डा कस्तो छ ? तस्बिरमै हेरौँ :

पानीको उचित निकास नहुँदा नवलपुरको कावासोती बजार क्षेत्रमा डुबानमा परेका घर । तस्बिर : दयाराम आचार्य

नवलपुरको सदरमुकाम कावासोतीको दुःखका रुपमा चिनिने केरुङ्गे खोलामा आएको बाढी । केरुङ्गेले बर्सेनि कावासोतीको खेतीयोग्य जमिन कटान गर्नेगरेको छ । तस्बिर : दयाराम आचार्य

बर्दियाको गुलरिया इन्द्रपुरस्थित हुलाकी सडकमा चार दिनदेखि अविरल वर्षापछि भरिएको पानी । तस्बिर : सरोज कामत

पानीको उचित निकास नहुँदा नवलपुरको कावासोती बजार क्षेत्रमा डुबानमा परेका घर । तस्बिर : दयाराम आचार्य

अविरल बर्षाका कारण डुबानमा परेको नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रको कार्यालय । बुधबारदेखिको बर्षाका कारण यहाँका अधिकांश क्षेत्रहरु डुबानमा परेका छन् । तस्बिर : तिलकराज ओझा

तनहुँको घिरिङ्ग गाउँपालिका–५ देउरालीमा शुक्रबार पहिरो जाँदा अवरुद्व भएको श्रृङ्गपथ मार्ग । जिल्लाको भीमाद हुँदै ऋषिङ्ग, नवलपुर, पाल्पा जोड्ने उक्त मार्ग पहिरो जाँदा पूर्ण रुपमा अवरुद्व भएको हो । तस्बिर : सानेबहादुर नेपाली

तीन दिनको अविरल वर्षाका कारण घोराही–१४ झिगौरामा भत्किएको घर । मानवीय क्षति नभए पनि घर बस्न नमिल्ने गरी भत्किएको छ । तस्बिर : रञ्जिता अधिकारी

शुक्लाफाँटा नगरपालिका–१० झलारीका स्थानीय महिला बर्षाको पानीले ढालेको धानका मुठा बाध्दै । निरन्तर तीन दिन देखिको बर्षाले भित्र्याउन ठिक्क भएको धानबाली ढालेर नोक्सन गरेको छ । तस्बिर : राजेन्द्रप्रसाद पनेरु

वर्षाले राप्ती नदीमा आएको बाढीले बाँके डुडुवा गाउँपालिका– १ चौफेरी गाउँ डुबान । घर भित्रसमेत पानी पसेपछि स्थानीय घरपरिवारलाई प्रहरी र रेडक्रसकर्मीको टोलीले उद्धार गरी सुरक्षित आश्रयस्थलमा लग्दै । तस्बिर : राकेश कुमार मिश्र

तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा लेदो माटो खसेपछि अवरुद्ध पृथ्वी राजमार्ग खुलाउन माटो फाल्दै प्रहरी र स्थानीय । करिब एक घण्टा अघि लेदो माटो खसेर सडक अवरुद्ध भएको हो । राजमार्गको तनहुँ खण्डमा ठाउँठाउँमा अवरुद्ध हुँदै बाटो खुलाउँदै सुचारु भइरहेको छ । तस्बिर : मिला दरै

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नं ६ राङ्टेँमा सडक तलबाट झरेको पहिरोले राप्ती राजमार्ग बगाएको छ । जसका कारण यातायात आवागमण रोकिएको छ । तत्काल सडक सुचारू हुने देखिन्न । उक्त पहिरोले स्थानीयको किबि र सुन्तला खेतीमा क्षती गरेको छ । तस्बिर : परिचन्द्र खत्री

राप्ती गाउँपालिका–६ सगरापुरमा लगातारको वर्षाका कारण डुबानमा परेको बस्ती । तस्बिर : रञ्जिता अधिकारी


लगातारको अबिरल वर्षाले नेपालगन्ज शहर जलमग्न भएको छ । नेपालगन्जको न्युरोड, एमपी स्कूल रोड, फुल्टेक्रा, सेतु विक चोक, धम्बोझी, बेलासपुर, कोरियनपुर, कारकादो, रानीतलाउलगायतका स्थान तथा सडकहरु जलमग्न भएपछि आवतजावतमा समस्या भएको छ । तस्बिर : राकेश कुमार मिश्र

राप्ती गाउँपालिका–६ सगरापुरमा लगातारको वर्षाका कारण डुबानमा परेको बस्ती । तस्बिर : रञ्जिता अधिकारी

वीरेन्द्रनगरको तल्लो क्षेत्रमा परेको क्षेत्र । अबिरल वर्षाका कारण वीरेन्द्रनगर नगरपालिका–९ को पर्सेनी, लबस्ता, तीलपुर, इटौरा, घोग्रेनीलगायतका क्षेत्रहरु डुबानमा परेका छन् । तस्बिर : सुरेश आचार्य
