काठमाडौं । दीपक बोहोरा, दुई शब्दमा ‘राजतन्त्रको हिमायती’ हुन् । साथै प्रजातन्त्र र कम्युनिष्ट सिद्धान्तको कट्टर विरोधी पनि ।
तत्कालीन प्रजातन्त्रको पक्ष लिएर सडकमा प्रजातन्त्र प्राप्तिको नारा लगाउने कांग्रेस-कम्युनिस्टलाई दिएको यातना विशेषगरी रुपन्देहीका कांग्रेस-कम्युनिस्ट नेता-कार्यकर्ताको मस्तिष्कमा ताजै छ । राजाले प्रजातन्त्रमाथि चलाएको त्यो धारिलो हतियारलाई कसैगरी भुल्न सकिँदैन । त्यसैको मतियार हुन्,बोहोरा ।
प्रजातन्त्र पुनःस्थापना गर्न संघर्षमा रहेका कांग्रेस-कम्युनिस्टलगायत तत्कालीन प्रजातन्त्रवादी नेताहरुबारे गोप्य जानकारी लिने र त्यसलाई राजाकहाँ पुर्याउने काम रुपन्देहीबाट बोहोराले नै गर्थे ।
जनताको शासन स्थापनाका लागि राजतन्त्रविरुद्ध उत्रिएकालाई जेलनेल र यातना उपहार स्वरुप दिन्थे बोहोरा । उनीमाथि पञ्चायतको ‘भूमिगत गिरोह’को सदस्य भएर काम गरेको आरोप पञ्चायतकालमा निकै चर्चामा थियो ।
कैयौँ, कांग्रेस र कम्युनिस्ट नेताहरु बोहोराकै सुराकबाट चरम यातना खेपेका थिए । जेलनेल सहेका छन् । कलिला हातमा हतकडी लगाइएका छन् ।
उबेला, राजा र तिनको शासनविरुद्ध बोल्नेहरुको नामोनिसान मेट्न बनेको ‘मण्डले’ हरुको एउटा डरलाग्दो अनुहार नै थिए, उनी । साथै रुपन्देहीका ‘गुन्डा नाइके’ पनि ।
उनै बोहोरा र उनको मण्डले समूहको मरणासन्न आक्रमणमा परेका थिए, भर्खरै एमाले छोड्ने निधो गरेका नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालको परिवार पनि । कम्युनिस्ट विचार राखेकै कारण, तत्कालीन पञ्चायती व्यवस्थाविरुद्ध सक्रिय रहेका कारण भुसालको परिवारले चरम यातना खेप्यो ।
बोहोराको पोको अझै खोलौं, २००७ सालतिर पाल्पामा जन्मिए पनि स्थायी रुपमा रुपन्देहीको भैरहवास्थित खजाना टोलमा बसे, बोहोरा । २०२४ सालदेखि राजाको गुणगान गाउने पात्रका रुपमा राजनीतिमा प्रवेश गरे ।
पञ्चायतकालमा विद्यार्थी मण्डलको नेता मात्रै भएनन् पछि मन्त्रीको पगरीसमेत पाए । ०३८ सालको पेरिफेरीसम्म पुग्दा बोहोरा मन्त्री भइसकेका थिए । उनी पर्यटनमन्त्री हुँदा ‘बोइङ काण्ड’को मतियारका रुपमा इतिहासले उनले सधैं सम्झिरहनेछ ।
दुई वर्षअघिसम्म राप्रपा प्रजातान्त्रिकको उपाध्यक्ष थिए । कमल थापा अध्यक्ष हुँदा राप्रपासँग एकता गरेर राजा र उनको शासनलाई पुनः नारायणहिटी फर्काउनुपर्छ भन्ने उनको विचार छ । उनी आउने मंसिर ४ को चुनावमा रुपन्देहीबाट लड्ने तयारी गरिरहेका छन् ।
उबेला प्रजातन्त्र पुनःस्थापनाका लागि लडिरहेका राजनीतिक दलका नेता-कार्यकर्तालाई जेलनेल र यातना दिलाउने बोहोरा लोकतन्त्र हुँदै मुलुकमा गणतन्त्र आउँदा पनि चुनाव लड्न छाडेका भने छैनन् ।
अहिले उनलाई राप्रपाले रुपन्देहीको निर्वाचन क्षेत्र १ र ३ बाट सर्वसम्मत सिफारिस गरेको छ । साम, दाम, दण्ड र भेद सबै प्रयोग गरेर उनी चुनाव लडेर जित्ने तरखरमा छन् । उनको पहिलो योजना सफल भएको छ । एमाले अध्यक्ष केपी ओलीको बुई चढेर भुसालको राजनीतिक जीवनमाथि प्रहार गर्न चाहन्थे । त्यसमा उनी सफल पनि भए ।
हिजो निरंकुश शासन र सत्ताविरुद्ध आवाज उठाउनेलाई अपराधी मानिन्थ्यो । उनीहरुलाई अपराधीसरह जेलको हावा खुवाइन्थ्यो । सकारात्मक परिवर्तनको पक्ष लिएर लड्नेलाई अँध्यारो कोठामा पुर्याइन्थ्यो । अर्थात् जेलमा । भुसाल पनि तीन वर्षसम्म त्यहीँ अँध्यारो कोठामा बसे । विद्यार्थीकालदेखि कम्युनिस्ट राजनीति गर्न सुरु गरेका भुसाल पश्चगामी बाटोविरुद्ध सधैँ उभिन्छन् भन्ने आम छाप छ ।
अनेरास्ववियूदेखि राजनीति गरेका उनले एमालेको उपमहासचिवसमेतको जिम्मेवारी निर्वाह गरिसकेका छन् । चितवनमा भएको एमालेको दशौं महाधिवेशनमा ओली टिमले उनलाई पराजित गर्यो ।
मन्त्रीसमेत भइसकेका उनी ०७४ सालको निर्वाचनमा पनि रुपन्देही ३ बाट झन्डै ३३ हजार मत ल्याएर विजयी भए । त्यतिबेला, उनले उनै बोहोरालाई पराजित गरेका थिए । भुसालले ३२ हजार ८ सय ६६ मत ल्याएर विजयी हुँदा प्रतिद्वन्द्वी राप्रपा प्रजातान्त्रिकबाट उठेका बोहोराले २७ हजार ४ सय २२ मत ल्याएका थिए । उनै भुसाललाई यसपटकको निर्वाचनमा एमालेले टिकटबाट वञ्चित गरेको छ ।
निर्मलनिवासबाट राजालाई नारायणहिटीमा ल्याउने सोचेको राप्रपासँग एमालेले यो चुनावमा घाँटी जोडेको छ । यही गठबन्धनको कारण देखाउँदै आफ्नो बलियो उम्मेद्वार भुसाललाई टिकट नदिएर अध्यक्ष ओलीले राप्रपाको हलो चिह्नबाट चुनाव लड्ने बोहोरालाई भोट दिन आफ्ना कमरेडहरुलाई हुकुम जारी गर्नेछन् ।
तर, एउटा मण्डलेका लागि ओलीको ‘कम्युनिस्ट धोती’ यसरी खुस्किन्छ भन्ने कमैले कल्पना गरेका थिए । आफ्ना बलिया उम्मेद्वारलाई नियतवश ओलीले आफ्नो पुरानो शैलीबाट पन्छाए । एमाले नीति र थितिमा नचलेको प्रमाणित गराए ।
ओलीको यो निर्णयले अर्को कुरा पनि सिद्ध भएको छ- ४५ वर्षसम्म एमालेमा रहेर राजतन्त्र, निरंकुशतन्त्रविरुद्ध आवाज बोल्ने एमालेका कमरेडहरुले ‘ओली शासन’ रहुन्जेल मण्डलेका लागि पटक-पटक शहादत भोग्नै पर्छ- भुसाल यसको ताजा उदाहरण हुन् ।
लोकेन्द्र विश्वकर्मा
