- देवेन्द्र बस्नेत/तेस्रो आँखा
काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औँ महाधिवेशन उद्घाटन सत्रको भाषणमा भनेका थिए– ‘कांग्रेसले आउँदो चुनावमा जित्छ, जित्छ, जित्छ ।’ जितको आधार के ? मन्तब्यकै क्रममा उनले यो पनि खुलाए– ‘मलाई सभापतिमा जीताउनुस् ।’
चुनाव ‘जीत्नै’ पर्ने दबाबमा कांग्रेस रहेको भन्दै उनले भने– ‘स्थानीय सरकारदेखि सबै सरकारको नेतृत्वको कांग्रेसले लिनै पर्छ ।’
केपी ओलीलाई गलत ‘सत्ता–सञ्चालक’ को संज्ञा दिएका देउवाले कांग्रेसले जीतनुपर्ने र सरकारको नेतृत्व लिनुपर्ने कारण ‘केपी–कदम’ लाई देखाए । त्यसको अर्को दिन पनि काठमाडौँमा आयोजीत कार्यक्रममा देउवाले उसैगरी मुख खोले– ‘मैले कांग्रेसको सभापतिमा जितिन भने प्रधानमन्त्री पद गुम्छ ।’
‘आगामी निर्वाचन कांग्रेसले जीतनै पर्ने, सरकारको नेतृत्व गर्नैपर्ने र त्यसका लागि सभापतिमा आफूले जीतनै पर्ने’ देउवाको अभिव्यक्तिले उनको ‘सत्तामोह’ लाई छताछुल्ला पारिदिएकै थियो । सत्ता उन्मुख देउवाको ‘सभापति–यात्रा’ ले सफलता हात पारेको छ । कांग्रेसको सभापतिमा दोस्रो कार्यकालका लागि मतदाताबाट ‘अनुबन्धित’ देउवा अब पनि सत्ताकेन्द्रित राजनीतिलाई ‘रिन्यु’ गरेर अगाडि बढ्नेमा कुनै सन्देह छैन ।
सभापति देउवाका बारेमा चासो राख्नेहरू उनलाई ‘सत्तामुखी नेता’का रूपमा चित्रण गर्छन् । उनी सदैव सत्ताको केन्द्रमा आफूलाई राखेर रमाउन चाहने दृढ इच्छाधारी व्यक्ति हुन् । उनको नेतृत्वमा कांग्रेस ‘धरासायी’ बनेको उदाहरण यस अघिकै उनको नेतृत्वले प्रष्ट पारेको भान आम कार्यकर्तालाई गज्जबैसँग परेको छ । यसर्थ, कांग्रेसमा उनको बिकल्पमा नेतृत्व आउनुपर्छ भन्ने बहसमा कांग्रेस राजनीति नतातेको पनि होइन ।
सभापतिमा देउवाको विकल्पमा आफूलाई अघि सारेर ‘मजबुत’ कांग्रेस निर्माणको परिकल्पना गरेका दोस्रो तहका डा. शेखर कोइरालाहरू बिफल भए । उनै देउवा पुनः सभापतिमा चुनिए । पार्टी नेतृत्वको ‘चाबी’ उनै देउवाको हातमा परेको छ । पार्टी सञ्चालनका लागि हातमा परेको चाबी देउवाले सत्ताको ढोका खोल्न प्रयोग गरिरहने छन् ।
‘प्रधानमन्त्री कप’ को दौडमा कांग्रेस पुनः कुद्ने अनुमान गर्न देउवाको यस अघिको कार्यकालले प्रेरित गरिरहेकै छ । त्यसो त, एजेण्डा नै ‘सत्ता’ बनाएर सभापति चुनावमा भिडेका देउवाले आफूलाई आफ्नो ‘सत्तामुखी’ स्वभावबाट सुधार्लान् भन्ने अनुमान कमैमात्रै गर्न सकिन्छ । नत्र उनले सभापति दौडका क्रममा संगठन निर्माणको चिन्ता गर्नुपर्दैन थियो ?
उनले भने जस्तै अब गठबन्धनका साझा प्रधानमन्त्री बन्ने सहज बाटो उनका लागि ‘सभापति–जीत’ बनिदिएको छ । फलतः देउवा र उनी नेतृत्वको कांग्रेस देउवा शक्तिले भ्याएसम्म प्रधानमन्त्रीको पेरिफेरिमै घुमिरहने छ ।
सभापति देउवाले अघिल्लो कार्यकालमा जस्तो कांग्रेसलाई बेवास्ता गरेर प्रधानमन्त्रीका लागि मात्रै मरिहत्ते गरे कांग्रेस थप कमजोर त बन्छ नै देउवाको नाम कांग्रेस कित्तामा सत्ताभोगी नेताका रूपमा ठूलो अक्षरले कुदिने निश्चितप्रायः छ । फलतः देउवाका सामु सत्ताभन्दा पनि पार्टी बनाउने चुनौती १४औँ महाधिवेशनले दिएको छ ।
