• ट्रेण्डिङ्ग :
कर्णाली : लगातारको वर्षाले २२ जनाको मृत्यु
हर्ष थपिनुपर्ने दसैँमा पीडा थपियो

हर्ष थपिनुपर्ने दसैँमा पीडा थपियो


  • 4.2K
    SHARES
    • आश्विन २५, २०७९ मंगलबार
    • ३ बर्षs अघि
    • 6.4K Views

    हर्ष थपिनुपर्ने दसैँमा पीडा थपियो

    लगातार पाँच दिनसम्म निरन्तर भएको वर्षाका कारण बाढीपहिरामा परी कर्णाली प्रदेशमा अहिलेसम्म २२ जनाको मृत्यु भएको छ भने ३४ जना बेपत्ता भएका छन् । यहीँ असोज १९ गतेबाट परेको अविरल वर्षापछिको बाढीपहिरामा २२ जनाको मृत्यु भएको र ३४ बेपत्ता भएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । प्रहरीका अनुसार सात घाइते भएका छन् । अझै घटनाको सबै विवरण सञ्चार सेवा अवरुद्ध हुँदा आउन नसकेको जनाइएको छ ।

    सुर्खेत । लगातार पाँच दिनसम्म निरन्तर भएको वर्षाका कारण बाढीपहिरोमा परी कर्णाली प्रदेशमा अहिलेसम्म २२ जनाको मृत्यु भएको छ भने ३४ जना बेपत्ता भएका छन् ।

    images

    यही असोज १९ गतेबाट परेको अविरल वर्षापछिको बाढीपहिरोमा २२ जनाको मृत्यु भएको र ३४ बेपत्ता भएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । प्रहरीका अनुसार सात घाइते भएका छन् । अझै घटनाको सबै विवरण सञ्चार सेवा अवरुद्ध हुँदा आउन नसकेको जनाइएको छ ।

    मृत्यु हुनेमा मुगुका मात्रै आठजना छन् । मुगुको छायाँनाथ रारा नगरपालिका ११, तली सालिमका घर माथिबाट आएको पहिरोमा पुरिएर आठजनाको मृत्यु भएको प्रहरीको भनाइ छ । पहिरोमा परेर सात घाइते भएका छन् । मृत्यु हुनेमा छायानाथ रारा नगरपालिका ११ का ८२ वर्षीया गौरीकला बोहोरा, १९ वर्षीया सुस्मिता भग्री, ३० वर्षीया होजाली भग्री, ५४ वर्षीय वीरबहादुर भग्री, १५ वर्षीय चक्रवीर बोहोरा, २० वर्षीय सक्कबहादुर सावत, २० वर्षीय कृष्णा सावत, ६० वर्षीया हाजिरा भग्री रहेको प्रहरीले जनाएको छ ।

    त्यसैगरी हुम्लामा चारजनाको मृत्यु भएको छ । चङ्खेली गाउँपालिका ६ मा पहिरोले घर पुरिँदा एकै परिवारका चारजनाको मृत्यु भएको चङ्खेली गाउँपालिका उपाध्यक्ष प्रेमकला शाहीले जानकारी दिइन् । मृत्यु हुनेमा ५७ वर्षकी तुलसा, नौ वर्षकी सुष्मिता , सात वर्षकी हुइजाली  र पाँच वर्षका वसन्त विक छन् ।

    यस्तै जुम्लामा सात, डोल्पामा एक, दैलेखमा एक र सल्यानमा एक जनाको बाढीपहिरोमा परी मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद श्रेष्ठले जानकारी दिए । 

    यसैबीच सबैभन्दा ठूलो असर कालीकोटमा परेको छ । कालीकोटमा मात्रै एक प्रहरी जवानसहित २३  बेपत्ता भएको विवरण छ । तिलागुफा नगरपालिका ४ राँचुलीमा मलामी गएका १३ जना पहिरोमा पुरिएर बेपत्ता भएका छन् । आइतबार दिउँसो १ बजेतिर मलामी गएका उनीहरूमाथि तिला-कर्णाली नदीमा शव जलाउने क्रममा पहिरो खसेको जनाइएको छ ।

    पहिरोमा पुरिएर तिलागुफा ४ का नवनिर्वाचित वडाध्यक्ष परमबहादुर शाहीसहित १३ जना बेपत्ता भएका कालीकोटका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए । आइतबार दिउँसोदेखि उनीहरु सम्पर्कमा नआएपछि खोजी गर्दा पहिरोमा पुरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शनिबार मृत्यु भएका स्थानीय युवक हेमराज शाहीको तिलाकर्णाली नदीमा अन्तिम संस्कार चलिरहँदा त्यहाँ पुगेका मलामीमाथि पहिरो खसेको हो ।

    बेपत्ता हुनेमा कालीकोट तिलागुफा नगरपालिका ४, राँचुलीका ४७ वर्षीय कालीबहादुर शाही, ६३ वर्षीय धनबहादुर शाही, ३१ वर्षीय क्षेत्रजङ्ग शाही, २८ वर्षीय खगेन्द्र शाही, २३ वर्षीय भेषबहादुर शाही, ५५ वर्षीय धन शाही छन् । यसैगरी ७६ वर्षीय अलि शाही, २३ वर्षीय खेमराज शाही, ५७ वर्षीय भक्तबहादुर शाही, ४१ वर्षीय मोतिलाल शाही, ५९ वर्षका परबहादुर शाही, २४ वर्षीय नरेश शाही र २३ वर्षीय प्रशान्त शाही पहिरोमा पुरिएर बेपत्ता भएका छन् । बेपत्ता हुनेहरूको खोजी र घाइतेको उद्धार चलिरहेको प्रहरीले जनाएको छ । बाढीपहिरोबाट सयौँ परिवार घरबारविहीन भएका छन् । क्षतिको विवरण सङ्कलन भइरहेको जनाइएको छ । 

    सञ्चार सेवा अवरुद्ध, विववरण संकलनमा कठिनाइ 

    लगातारको वर्षाले हिमाली जिल्लाका सञ्चार सेवा अवरुद्ध भएको छ । सञ्चार सेवा अवरुद्ध हुँदा बाढीपहिरोबाट भएको क्षतिको विवरण अझै आउन नसकेको प्रहरीले जनाएको छ । टेलिफोन, इन्टरनेट सेवा अवरुद्ध हुँदा मानवीय र अन्य क्षतिको सम्पूर्ण विवरण आइनसकेको प्रदेश प्रहरी कार्यालका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठले जानकारी दिए ।

    राहत र पुनःस्थापनामा कुनै कसर बाँकी राख्दैनौं : मन्त्री शाही 

    कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीले बाढीपहिरोमा परी मृत्यु र बेपत्ता भएकाहरूप्रति दुःख व्यक्त गर्दै बाढीपहिरो प्रभावितका लागि राहत र पुनःस्थापना गरिने प्रतिबद्धता जनाए । उनले भने, ‘प्राकृतिक प्रकोपलाई रोकेर रोक्न सकिन्न, प्रदेशमा बाढीपहिरोबाट मृत्यु र बेपत्ता भएको खबर प्राप्त भएको छ म दुःख व्यक्त गर्छु । बाढीपहिरो प्रभावितका लागि सरकारले राहत र पुनःस्थानापन गर्न कुनै कसर बाँकी राख्ने छैन ।’ 

  • सम्बन्धित विषय:

  • # दसैं

  • टेकराज केसी
    लेखकबाट थप