काठमाडौं । प्रतिनिधिसभातर्फ देशभर ८६७ जना स्वतन्त्र उम्मेदवार रहेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले दिएको समयसीमाभित्र उम्मेद्री फिर्ता लिएर पनि ८६७ जना स्वतन्त्र उम्मेदवार कायम भएका हुन् ।
आयोगले बुधबार राति सार्वजनिक गरेको मनोनयनको अन्तिम सूचीअनुसार कुल २४०७ जना उम्मेद्वार कायम भएका छन् । जसमा स्वतन्त्र उम्मेद्वारी दिने संख्या पनि उल्लेख्य भएको हो ।
निर्वाचन आयोगले मंसिर ४ गते हुने आम निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारहरुलाई बुधबार निर्वाचन चिह्न प्रदान गरेको छ । आयोगले सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमार्फत उम्मेद्वारलाई चिह्न प्रदान गरेको हो ।
नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रतिनिधिसभा चुनाव लड्न डडेल्धुरा पुगेका स्वतन्त्र उम्मेद्वार सागर ढकालले चुनाव चिह्न ‘सिरिन्ज’ पाएका छन् । यसैगरी नेकपा एमालेबाट टिकट नपाएपछि प्रतिनिधिसभामा स्वतन्त्र उम्मेद्वारी दिएका घनश्याम भुसालले त्रिभुज चिह्न पाएका छन् ।
तनहुँ १ को प्रतिनिधिसभाका सदस्यमा स्वतन्त्र उम्मेद्वारी दिएका कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले ‘कैंची’ चुनाव चिह्न पाएका छन् । यसैगरी झापा ५ बाट एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिँदै प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्र उम्मेद्वारी दिएका युग पाठकले पुतली चुनाव चिह्न पाएका छन् ।
यसैगरी चितवन ३ बाट प्रतिनिधिसभामा स्वतन्त्र उम्मेद्वारी दिएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले माछा र चितवन ३ कै प्रतिनिधिसभाका स्वतन्त्र उम्मेद्वार जगन्नाथ पौडेलले ‘सूर्यमुखी फूल’ चुनाव चिह्न पाएका छन् ।
यसैगरी काठमाडौं ६ बाट स्वतन्त्र उम्मेदवारी दिएका गायक सञ्जय श्रेष्ठले चुनाव चिह्न माछा पाएका छन् । यस्तै एमालेले टिकट नदिएपछि विद्रोह गरी दाङ १ बाट उम्मेद्वारी दिएकी गंगा चौधरीले चुनाव चिह्न लौरो पाएकी छन् ।चौधरीले हाम्रो नेपाली पार्टीबाट लौरो चिह्न पाएकी हुन् ।
यसैगरी नेकपा एमालेबाट विद्रोह गरेका नेता रामवीर मानन्धरले घण्टाघर चुनाव चिह्न पाएका छन् । काठमाडौं ७ मा स्वतन्त्र उम्मेद्वारी दिएका यादवलाल कायस्थले चुनाव पानीको जार चिह्न पाएका छन् ।
यसैगरी रौतहट ३ बाट प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साहको चुनाव चिह्न ह्यान्ड पाइप (हातेकल) कायम भएको छ । कैलाली ५ मा स्वतन्त्र उम्मेद्वारी दिएका पूर्वराज्यमन्त्री पुष्करनाथ ओझाले चुनाव चिह्न ‘माछा’ तथा कैलाली प्रदेशसभा (२) मा स्वतन्त्र उम्मेदवारी दिएका क्षितिज भण्डारीले ‘केरा’ चिह्न पाएको आयोगले जनाएको छ ।
