• ट्रेण्डिङ्ग :
शीर्षस्थलाई चुनौती
देउवालाई हराएर डडेलधुराले ‘पापमोचन’ गर्ला ?

देउवालाई हराएर डडेलधुराले ‘पापमोचन’ गर्ला ?


  • 10.6K
    SHARES
    • आश्विन २८, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 16.2K Views

    देउवालाई हराएर डडेलधुराले ‘पापमोचन’ गर्ला ?

    आगामी निर्वाचनमा शीर्ष नेताहरू सुरक्षित ठाउँ खोजिरहेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवनमा असुरक्षित महसुस गरेपछि बाबुरामसँग बार्गेनिङ गरेर गोरखा पुगे । अब उनी गोरखा २ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनाव लड्दै छन् ।

    काठमाडौं । आगामी निर्वाचनमा शीर्ष नेताहरूले सुरक्षित ठाउँ खोजे । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवनमा असुरक्षित महसुस गरेपछि बाबुराम भट्टराईसँग बार्गेनिङ गरेर गोरखा पुगे । अब उनी गोरखा २ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनाव लड्दै छन् ।

    images

    मंसिर ४ को निर्वाचनमा स्वतन्त्रको बाढी आउने सूचना स्थानीय चुनावबाट पाएपछि विस्थापित हुने डरले दलका शीर्षस्थहरू सुरक्षित स्थान रोजेका हुन् । तर, देशको प्रधानमन्त्री, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भने डलेलधुराबाटै चुनाव लड्ने भए । पत्नी आरजुमार्फत उनले डडेलधुराबाटै उम्मेद्वारी दर्ता गराए ।

    चुनावमा मात्रै देख्‍न पाउने डलेलधुरावासीले यसपालि देउवालाई संसद्‌मा पुर्‍याउँछन् त ? देउवा कति सुरक्षित छन् ? उनीमाथि चुनौती कति थपिएको छ ? थाहा पाउन एकपटक विगत खोतल्नैपर्ने हुन्छ ।

    २०२१ सालदेखि कांग्रेसको विद्यार्थी संगठनबाट राजनीति सुरु गरेका देउवा पाँचपटक देशको नेतृत्व गरिसके । प्रजातन्त्र पुनःस्थापनापछिको पहिलो आमनिर्वाचन २०४८ देखि डलेलधुरामा देउवाको विकल्प कोही भएन । त्यहीँ डलेलधुरा हो, जसले २०२८ सालमै नेविसंघको सभापति पायो । उनै देउवा विद्यार्थीको सभापति भएर गृहजिल्ला पुगेका थिए । त्यतिबेला देउवा विद्यार्थी संगठनको सभापति मात्रै भएनन् तत्कालीन सभापति बीपी कोइरालाले उनलाई सुदूरपश्चिमका केही जिल्लाको जिम्मेवारी पनि दिएका थिए । जुन, देउवाले सफलतापूर्वक सम्पन्न गरे । त्यतिबेलै नेपाली कांग्रेसको जिम्मेवारमा गनिन थालेका हुन् देउवा । दार्चुला, बैतडीदेखि डडेलधुराका कुनाकुनामा पुग्थे । पार्टी निर्माण गर्थे । संगठन विस्तार गर्थे । ती, दुर्गम कुनाहरूमा देउवा समृद्धिका सपनाहरू बाँड्थे । विकासका योजनाहरू बाँड्थे । उनीप्रतिको आकर्षण पनि उत्तिकै थियो । कांग्रेसको जिम्मेवार नेताका रूपमा उभिन थालेपछि उनको क्रेज नै फरक थियो ।

    पछि केही समयका लागि उनी पढाइका लागि विदेश जानुपर्‍यो । पढाइका लागि उनी लन्डन पुगे । ०४६ सम्म उनी लन्डनमै थिए । तर, त्यहाँबाट पनि नेपालको बदलिँदो राजनीतिलाई नियालिरहेका थिए । परिवर्तन खोजिरहेको राजनीतिले राजाको ‘कू’लाई बिर्सन कसैगरी सकेको थिएन । जसविरुद्ध, कांग्रेसले जनाआन्दोलन चर्काएका बेला देउवा लन्डनमै थिए । 

    त्यतिबेला, डडेलधुरालगायत सुदूरपश्चिमका केही जिल्लामा कांग्रेसको नेतृत्व कमजोर भयो । नेतृत्वले जसरी भूमिका निभाउनुपर्ने त्यो भएन । भनौं, कांग्रेस कुशल नेतृत्वविहीन भयो । र, थियो । ०४७ सालमा जनाअन्दोलन सफल भयो । जसलाई लन्डनबाट हेरिरहेका देउवा ०४७ मै नेपाल आए ।

    नेपाल आएर राजनीतिको शीर्षस्थ उचाइँमा पुग्न चाहन्थे देउवा । जसका लागि सानो कसरत गर्नुपर्ने थियो । अनि, सुरु गरे कसरत । त्यो पनि डडेलधुराबाटै ।

    पछि, देउवाले डडेलधुरा कांग्रेसको पुरानो विरासत मात्रै फर्काएनन् ०४८ सालको पेरिफेरिमा पुग्दा उनले गृहमन्त्रीको शपथसमेत खाए । सुदूर...डडेलधुराले त्यतिबेला नै देउवालाई गृहमन्त्री बनायो । त्यतिबेलादेखि डडेलधुराले देउवालाई चुनाव जिताउँदै आएको छ ।

    इतिहास लामो छ । त्यहीँ डडेलधुरा हो ! जसले देउवालाई गृहमन्त्री मात्रै बनाएन पाँच-पाँचपटक देशको प्रधानमन्त्री बनाएर रेकर्ड राखेको छ । डडेलधुराले देउवाको गलामा कहिल्यै हारको माला पहिराएन । जितकै पहिर्‍यायो ।

    बदला डडेलधुराले के पायो ! त्यहीँ रोग ? त्यहीँ भोक ? त्यहीँ समस्या ? तिनै दुःख र दर्द ? आखिर के पायो र ? यी प्रश्नले मंसिर ४ भन्दाअघि नै देउवाबाट जवाफ चाहन्थे । र, चाहन्छन् । विडम्बना ! देउवासँग जवाफ छैन । डडेलधुरावासीलाई जवाफ भए पो दिन्छन् ! नत्र..के दिन्छन् ? बरु जवाफ दिन्छु भनेर गुल्मीका सागर ढकाल डडेलधुरा पुगेका छन् ।

    देउवाको पहिलो चुनौती, २०२८ सालमा देउवा पुगेजस्तै डडेलधुराका कुनाकाप्चा यतिबेला सागर पुगेका छन् । तीन महिनादेखि ‘देउवा गाउँ’को वरिपरि बास गरिरहेका सागर, देउवालाई आगामी चुनावपछि स-सम्मान बिदा गर्न चाहन्छन् । जसका लागि उनी डडेलधुरा पुगेका हुन् । भन्छन्, ‘देउवा हजुरबा अब बिदा हुनुपर्छ । नातिले पालो दिनुपर्छ ।’

    त्यति मात्रै नभई डडेलधुरा पुगेर देउवाले गरेको विकासबारे खुलस्त पारिरहेका छन्, त्यो पनि भिडियोमार्फत । काठमाडौंलाई ताजा डडेलधुरा देखाइरहेका छन् । कि, ‘डडेलधुरा कुन अवस्थामा छ । देउवालाई ०४८ सालदेखि चुनाव जिताउँदै आएको डडेलधुराले के पायो ? फेरि जिताएर के पाउने ?’

    यिनै प्रश्नसहित डडेलधुराबाट देउवाविरुद्ध चुनावमा होमिएका छन् सागर । काठमाडौं चुनावी परिदृश्य डडेलधुरामा गाउँ-गाउँमा सुनाइरहेका छन्, देखाइरहेका छन् । ‘स्थानीय तहमा बालेन काठमाडौंको होइन भन्थे । तर, काठमाडौंवासीले जिताएर देखाइदियो । अब डडेलधुरावासी पनि कमजोर छैनन् । देखाउने नै छन्,’ सागर विश्वस्त सुनिन्छन् ।

    अहिले देउवालाई चुनौती दिने गतिला उम्मेद्वार बनेका छन् सागर । सागरलाई डडेलधुराका युवा भन्छन्, ‘देउवालाई बिदा गर्ने योजनामा हामी पनि छौं । तपाईं अघि बढ्नुहोस्, हाम्रो साथ छँदै छ ।’

    देउवालाई चुनौती दिने तयारीमा मात्रै छैनन् सागरको, विश्वकै कान्छो प्रधानमन्त्री बन्ने हुटहुटी छ उनमा ।

    पाँच वर्षअघि बीबीसीको साझा सवालमा तिनै शेरबहादुर देउवालाई ‘तपाईं कहिले विस्थापित हुने ? तपाईंबाट निराश भइसक्यौँ’ भन्ने सागर अहिले उनैविरुद्ध चुनावमा होमिएका हुन् । युवालाई आश देखाइरहेका छन् । सपना देखाइरहेका छन् । योजना बाँडिरहेका छन् उनले ।

    त्यतिबेला सागरले देउवालाई प्रश्न गर्दा विश्वका प्रधानमन्त्रीलाई उदाहरणार्थ प्रस्तुत गरेका थिए, ‘ली कुआन यूलाई सिंगापुर दिँदा, ढुंगा दिइएको थियो उनले हीरा बनाए तर नेपाललाई तपाईंको हातमा हीरा दिइएको थियो तपाईंले ढुंगा बनाएर छाड्नुभयो । यसको कारबाही कसलाई गर्ने ?’ (साझा सवालको यो भिडियो अझै पनि युट्युबमा सुरक्षित छ ।)

    सागरले प्रश्न गर्दा तत्कालीन प्रधानमन्त्रीको कुर्सीमा रहेका देउवा मनोविकारमा आएर जवाफ फर्काएका थिए, ‘तपाईं बढ्ता बोल्दै हुन्छ ।’

    प्रश्नको सिनारियो पाँच वर्षपछि बदलियो । समय फेरियो । इन्जिनियर सागर त्यहीँ अक्सफोर्ड विश्वविद्यालयमै पुगेर पढ्ने अवसर पाए । विश्वका धेरै मुलुकमा काम गरेको अनुभवसमेत लिएर फर्किए । शेरबहादुर देउवाकै क्षेत्र डडेलधुरा पुगेर उनीविरुद्ध उम्मेद्वारी दिए । चुनाव लड्ने निधो गरे ।

    सागर भन्छन्, ‘डडेलधुरालाई मोडल बनाउँछु ।’ डडेलधुरामा पनि उनले आफूलाई सफलतापूर्वक पस्किरहेका छन् । देउवाको हातमा उपविजेताको उपाधि थमाउने विश्वासमा छन् सागर ।

    देउवाका अर्का चुनौती कर्ण मल्ल

    डडेलधुरामा देउवासँग कसैले प्रतिस्पर्धा गर्थ्यो भने तिनको नाम हो खगराज भट्ट । उनी माओवादी केन्द्रबाट चुनावमा लड्थे । देउवा कांग्रेसबाट । भट्टले तीन पटकसम्म देउवालाई हराउने प्रयास गरेका थिए । तर, असफल रहे । उपविजेतामै चित्त बुझाए । अहिले पनि देउवासँग प्रतिस्पर्धा गर्ने योजना बुनिरहेका थिए । तर, प्रतिस्पर्धा नगर्नुको मूल कारण बन्यो गठबन्धन ।

    शेरबहादुर देउवा सत्ता गठबन्धनका उम्मेद्‍वार भएका कारण भट्टले अब उनीसँग प्रतिस्पर्धा होइन देउवाका लागि मत माग्न हिँड्नुपर्नेछ । तर, देउवाविरुद्ध देउवाकै किचेनमा बसेर काम गरेका कर्ण मैदानमा आएर ठूलो चुनौती बनेका छन् ।

    १४औं महाधिवेशनमा क्रियाशील सदस्यतालगायत विषयमा देउवासँग विमति राखेका मल्ल अन्ततः नेपाली कांग्रेस छाड्न बाध्य भए । देउवाबाट बनाइयो । अनि उनले कांग्रेस बीपीलाई रोजे । तिनै मल्ल अहिले देउवाविरुद्ध बलियो उम्मेद्‍वारका रूपमा खडा भएका छन् । मल्लको प्रभाव बढिरहेको अहिलेको अवस्थामा भने देउवाको दिनानु दिन ओरालो गतिमा छ । देउवालाई आफ्नो धरातल जोगाउनसमेत मुस्किल बन्दै गएको छ ।

    देउवालाई चुनौती मात्रै ?
    ०७४ सालको मतमरिणाम हेर्दा, देउवाविरुद्ध प्रतिस्पर्धामा उत्रिएका वाम गठबन्धनका खगराज भट्टले २१ हजार ४९८ मत प्राप्त गरेका थिए भने २८ हजार ४४६ मत ल्याएर देउवा विजयी भए । 

    सुदूरपश्चिमका जिल्लाहरुमा कांग्रेसका सबै उम्मेद्‍वार पराजित हुँदा देउवाले मात्रै प्रत्यक्षतर्फ जित हात पारे । दुई ठूला कम्युनिस्ट पार्टी मिलेर पनि देउवालाई हराउन सकेनन् । 

    यो माहोल बनाउने व्यक्ति हुन् कर्ण मल्ल । २० वर्षदेखि देउवाको किचेनमा बसेर काम गरेका कर्ण देउवालाई चुनाव जिताउने मुख्य भूमिका खेल्ने पात्रका रुपमा चिनिन्थे । तर, त्यो सम्बन्ध १४औं महाधिवेशनपछि विच्छेद भयो । अहिले कर्ण नै देउवाविरुद्ध उत्रिएकादा छन् । त्यसैले पनि देउवामाथि चुनौती थपिएको पक्कै हो । यो चुनौती मात्रै हुनेछ ।

    दुई ठूला कम्युनिस्ट पार्टीलाई भारी मतले पराजित गर्ने देउवा, स्वतन्त्रबाट पराजित हुन्छन् भन्ने कुरा कल्पनामा मात्रै गर्न सकिन्छ । माहोलमा फाटो आएको दुई मत छैन । यसले गर्दा स्वतन्त्र या कांग्रेसबाट विद्रोह गरेको समूहले विजयी प्राप्त गर्छ भन्न सकिँदैन ।

    बिर्सन नहुने अर्को कुरा, इतिहासमा असफल साबित प्रधानमन्त्री देउवालाई कदाचित् पराजित भए भने, पराजित पारियो भने एउटा सन्देश जानेछ, ‘असफललाई तह लगाउने चेतना काठमाडौंमा मात्रै आएको छैन, सीमित छैन । सुदूरको डडेलधुरामा पनि आयो ।’ अब डडेलधुरावासीमा एउटा ठूलो अवसर तथा चुनौती आइलागेको छ । के देउवालाई हराएर डडेलधुराले ‘पापमोचन’ गर्ला ? यो प्रश्न आम डडेलधुरावासीतर्फ सोझिएको छ ।

  • सम्बन्धित विषय:

  • # देउवाका चुनौती

  • लोकेन्द्र विश्वकर्मा
    लेखकबाट थप