काठमाडौं । निर्वाचन कार्यालयको आफ्नो उम्मेद्वारी खारेज गरेको निर्णय बदर गर्न माग गर्दै रुपन्देही क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका राजु गुरुङले दिएको रिटमाथिको सुनुवाइ शुक्रबार स्थगित भएको छ ।
न्यायाधीश हरि फुयाँलको इजलासमा परेको उक्त रिट गुरुङकै कानुन व्यवसायीले स्थगित गरेको सर्वोच्चको वेबसाइटमा उल्लेख छ ।
उक्त क्षेत्रका सहायक निर्वाचन अधिकृत घनश्याम गौतमले मंगलबार निकालेको विज्ञप्तिमा गुरुङको मनोनयन खारेज हुने गरी निर्णय भएको उल्लेख गरेका थिए । गुरूङले भने आयोगको निर्णय नमिलेको भन्दै त्यसलाई बदर गर्न माग गरेका हुन् ।
विगतमा गुरुङको फर्मका आठवटा चेक बाउन्स भएका थिए । गुरुङलाई अदालतले बैंकिङ कसुरमा दुई हजार रुपैयाँ जरिवाना गरेको र उक्त जरिवानासहितको भुक्तानी दिनुपर्ने रकम नदिएको प्रमाण फेला परेपछि उनको उम्मेद्वारी खारेज गरेको निर्वाचन कार्यालयले जनाएको छ ।
