काठमाडौं । अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस आज (सोमबार) विभिन्न कार्यक्रम गरी मनाइँदै छ । तर हरेक वर्ष जति नै दिवस मनाए पनि गरिबको समस्या उस्तै छ । वर्षैपिच्छे अर्बौं रकम छुट्याएर विभिन्न योजना ल्याए पनि गरिबी हट्न सकेको छैन ।
सन् १९९३ देखि हरेक वर्ष अक्टोबर १७ तारिखका दिन गरिबी निवारण दिवस मनाउने गरिन्छ। दिवस सीमित कार्यक्रममा सीमित दिवसको सान्दर्भिकता पूरा हुन सकेको छैन । नेपाल सरकारले पनि गरिबी निवारणका लागि विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । सन् २०२२ सम्म नेपाललाई अतिकम विकसित मुलुकको सूचीबाट विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने लक्ष्य राखिएको छ ।
सरकारले विकासशील देशमा गरिबी निवारणमा टेवा पुर्याउने उद्देश्यले संघ, प्रदेश र स्थानीय तहमा अर्बौं रुपैयाँका फरक-फरक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । सरकारले जतिसुकै गरिबी निवारणसम्बन्धी कार्यक्रम सञ्चालन गरे पनि चित्तबुझ्दो रुपमा घट्न सकेको छैन । सन् १९९६ मा नेपालमा ४२ प्रतिशत गरिब थिए । सन् २०१९ मा आएर भने १८ दशमलव ७ प्रतिशतमा झरेको तथ्यांक छ ।
