काठमाडौं । अघिल्लो दिन अर्थात् आइतबार ९ अंकले घटेको नेप्से आज सोमबार पनि दुई दशमलव ६१ अंकले घटेको छ । नेप्से सोमबार १,८५८ दशमलव ३३ अंकमा पुगेर रोकिएको छ । सेन्सिटिभ इन्डेक्स भने शून्य दशमलव दुई अंकले बढेर तीन सय ६५ दशमलव ६२ अंकमा चढेको छ ।
सेयर बजारमा सोमबार २१९ कम्पनीको १३ हजार ६ सय नौपटक कारोबार हुँदा १६ लाख ३१ हजार तीन सय ४९ कित्ता सेयर खरिद-बिक्री भएको छ । जसमा कारोबार रकम ४१ करोड ५८ लाख १८ हजार नौ सय ९० रुपैयाँमै सीमित भएको छ ।
नेप्सेमा सोमबार १३ समूहको कारोबार हुँदा ६ वटाको बढेको छ भने सात समूहका सूचक घटेका छन् । तीमध्ये वाणिज्य बैंक समूहको सूचक एक दशमलव ६२ अंकले बढेर १३ सय १३ दशमलव छ अंकमा चढेको छ । जीवन बिमा, ट्रेडिङ, होटेल तथा पर्यटन, अन्य र सामूहिक लगानी कोष समूहका सूचक पनि बढेका छन् ।
विकास बैंक, जलविद्युत्, फाइनान्स, निर्जीवन बिमा, उत्पादनमूलक, लघुवित्त र लगानी समूहका सूचक घटेका छन् । नेप्सेमा सोमबार अभियान लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य नौ दशमलव ४९ प्रतिशतले बढेर ८०८ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।
