• ट्रेण्डिङ्ग :
जो, सम्मान खोजिरहेका छन् !

जो, सम्मान खोजिरहेका छन् !


  • 5.0K
    SHARES
    • कार्तिक ३, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 7.7K Views

    जो, सम्मान खोजिरहेका छन् !

    सिन्धुली । सिन्धुलीको सदरमुकाम सिन्धुलमाढीको बसपार्क अगाडि मधुटार जाने बाटो छ । बाटो छेउमा लामै लाइन देखिन्छ, जुत्ता-चप्पल बनाउनेहरूको । लाइनभित्रै भेटिन्छन्, महोत्तरीको गौशाला नगरपालिका ११, कालिपुलका नथुनी राम (४३ वर्ष) ।

    images

    जुत्ता-चप्पलको तलुवा फेर्नु, फाटेको टल्काउनु, च्यातिएको सिउनु र चुँडिएको जोड्नु उनको पेसा हो । यो पेसाले उनलाई दाम दिएको छ । दामले जसोतसो जीविका चल्दै छ । दैनिक जीविका चलाउन रहर जलाउनुको विकल्प छैन । यसरी जुत्ता सिएरै दुई दशक बितिसकेको उनी बताउँछन् ।

    ‘हजुरबाले गर्दै आएको कामलाई बुबाले निरन्तरता दिनुभयो । रोगले थलिएर उमेरमै बुबाको मृत्यु भएपछि जेठो सन्तानका रुपमा आफैंले काम गर्नुपर्यो,’ नथुनीले भने, ‘नौ जनाको परिवार पाल्ने जिम्मेवारी थपियो । आर्थिक अभावका कारण पढ्लेख गर्न पाएनँ । सानै उमेरमा बुबाले गर्दै आएको पेसा अँगाल्न बाध्य भएँ ।’

    यो पेसा सुरु गर्दा उनी १६ वर्षे ठिटो थिए । साताको एकपटक सरकारी कर्मचारीले लगाउने छालाका जुत्ता टल्काउन सिन्धुलीमाढी आउँथे । महोत्तरीबाट २० रुपैयाँ गाडी भाडा तिरेर माडीबजार आएको उनलाई हिजोजस्तो लाग्छ । त्योबेलाको सिन्धुली सम्झिँदा अहिले सपनाजस्तो लाग्ने उनी बताउँछन् । उनका अनुसार पछिल्लो समय जिल्लामा आमूल परिवर्तन आएको छ । त्यतिबेला यहाँ काठका घर पातला थिए । अहिलेको फोस्रेटार, धुराबजार, मधुटार, गैरीबजार, ढुङ्ग्रेबासमा घना जंगल थियो । बसपार्कमा एउटा मात्र काउन्टर थियो । दैनिक दुई-चारवटा मात्र बस चल्थे ।

    समय सधैं कहाँ एकैनाश हुने रहेछ र ? आफ्नो केश फुल्न थाले । माढीबजारको रङ बदलियो । काठका घर विस्थापित भए । सिमेन्टका ठूला-ठूला घरहरु बन्दै गए । जंगल गाउँ हुँदै सहरमा परिवर्तन भयो । सवारीसाधनको चाप बढ्यो । काउन्टर थपिँदै गए । पार्कले थेग्नै छोडिसक्यो । चहलपहल बढ्दै गयो । गाँस, बास, कपासलगायत उपभोग्य सामग्रीको मूल्य आकाशियो । समय पूरै परिर्वतन भयो । उनी भन्छन्, ‘तर हाम्रा दुःख ज्यूँका-त्यूँ छन् । मिहिनेत र संघर्षले विश्राम लिएको छैन । थकानले विश्राम पाउँदैन ।’

    आधुनिक प्रविधिको जमानामा पनि उनको काम गर्ने शैली पुरानै छ । जीवन भोगाइमा पृथकता आउन सकेको छैन । उनले आफ्नो जीवनशैली परिवर्तन गर्न नचाहेको पनि होइन । आर्थिक अवस्था कमजोर भएपछि रहर एकातिर आफ्नो बाध्यता अर्कोतर्फ हुने बताए । ‘मेरो छोरो र भाइहरु सबैले यस्तै काम गर्छन्, जागिर गर्न पढेका छैनन्,’ बुबाआमाले मलाई पढाउन सक्नुभएन, मैले छोराछोरीलाई पढाउन सकिनँ,’ उनले भने ।

    जुत्ता, चप्पल सिलाएर कमाएको पैसाले अत्यावश्यक गाँस, बास र कपास पुर्‍याउनै धौधौ हुने उनको भनाइ छ । ‘कोठाभाडा, बिजुली बत्ती र पानीका लागि महिनैपिच्छे पाँच हजार छुट्याउनुपर्छ । पाँचजनाको परिवारलाई चामल, तरकारी, नुनतेल, लुगाफाटो, चाडबाडमा पाहुनाको सत्कारमा खर्च ठूलो छ । कमाइ महिनामा १०-१५ हजार पनि हुँदैन,’ उनले सुनाए । 

    नथुनीको भाइ राजकुमार राम (वर्ष ३९) को कथा दाइको भन्दा कम छैन । सानो उमेरमा आर्थिक अभावका कारण ठूलो दबाबमा परे । दाइको कमाइले बिरामी आमाको उपचार गर्न खर्च पुगेन । मजदुरी गर्न भारत गए । लेखपढ नभएको उनलाई चाहेको जस्तो काम मिलेन । बल्लतल्ल मिलेको काम पढलेख नभएकै कारण गर्न सकेनन् । भारतमा टिक्न गाह्रो भयो । जुत्ता, चप्पल बनाउन, सिलाउन, तलुवा लगाउनलगायतको (जो अहिले गरिरहेका छन्) सीप सिकेर गर्ने निर्णयमा पुगे । सीप सिक्ने तालिम लिन पैसा थिएन । अरुले काम गरिरहेको ठाउँमा गएर हेरेकै भरमा सबै सीप जानेको उनले बताए । 

    राजकुमारसँग नयाँ जुत्ता, चप्पल बनाउने कला पनि छ । मागअनुसार जस्तो भन्यो त्यस्तै बनाइदिन सक्ने सीप आफूसँग भएको उनले सुनाए । यसका लागि स्रोत र साधन जुटाउन नसकेको उनको भनाइ छ । ‘कोठा लिएर पसल खोल्नसमेत नसकेर धुँलोधुवा, उखरमाउलो गर्मी, झरी, हावाहुरी सबै सहेर दैनिकी सडकमै बताउनुपरेको छ,’ उनले भने, ‘पसल खोल्न पैसा छैन । बिनाधितो बैंकले ऋण दिँदैन । धितो राख्न जमिन छैन, सीप भएर के गर्नु ?’ उनले दुःखेसो पोखे ।

    जुत्ता चप्पल सिलाउँदा-सिलाउँदै रोगले थला परेका बुबाको उपचार गर्दा ऋण लाग्यो, बाँच्नु भएन । आमाको पनि दुःखद् निधन भयो । एकजना दाइले जुत्ता सिलाएको कमाइले पेटभरि खानै पुग्थेन । पढ्न जान कपी नै हुँदैन थियो ? उनले विगतलाई सम्झिँदै भने, ‘नपढे पनि सीप सिकेको छु । यही सीपले चारजनाको परिवार पालेको छु । कहिलेकाहीँ कमाइ नै हुँदैन । व्यवहार टार्न मुस्किल पर्छ । बाँकी दिनमा एक सयदेखि एक हजारसम्म कमाइ हुन्छ ।’ 

    यही पैसाले छोराछोरीलाई सरकारी स्कुलमा पढाएको समेत उनले सुनाए । विदेशमा मजदुरी गर्नुभन्दा यसैमा खुसी मिलेको उनले बताए । जुत्ता, चप्पलको उद्योग चलाउन स्थानीय सरकारको ढोका पटकपटक ढकढकाउँदासमेत केही सहयोग लिन नसकेको उनको गुनासो छ । मेसिनलगायत आवश्यक सामान किन्न तीन लाख रुपैयाँ मात्र ऋण पाएको भए यसैबाट कमाइ हुन्थ्यो र तिर्थें भन्ने उनलाई लागेको छ ।

    नथुनी र राजकुमारको जस्तै महोत्तरीको औरही नगरपालिका ६, बैरियाका विन्देश्वर राम (४२ वर्ष) को तीन पुस्ताको जिउने आधार यही पेसा भएको छ । वैदेशिक रोजगारीका क्रममा कतार र मलेसिया पाँच वर्ष बिताएर आफ्नो देश फर्किएपछि बुबाले गर्दै आएको पेसालाई उनले निरन्तरता दिए । 

    छोरा सञ्जय राम (१७ वर्ष) र भतिजा विजय राम (२८ वर्ष) पनि यतै जुत्ता सिलाउने काम गर्छन् । बुबा दुखा राम (७० वर्ष) अझैसम्म यही काम गरिरहेको उनले बताए । ‘आफू त नपढेर दु:ख पाएँ, छोराले पढेर जागिर गरोस् भनेर पढाउने धेरै कोसिस गरें, पढेन । यो पेसामा पहिलोको जसरी कमाइ हुन छोड्यो, अब नागरिकता बनाएर विदेश पठाइदिन्छु,’ उनले भने । 

    चार छोरी र दुई छोराका बाबु बताउने विन्देश्वर दुई छोरीको बिहे गरिदिएको र बाँकी रहेका छोराछोरी, घर परिवारको खर्च बाबुछोराको कमाइले धानेको बताए । सम्पत्तिको नाममा बुबाको नाममा दुई कठ्ठा जमिन छ । उनको दुई दाजुभाइले बुबाको त्यही जमिनमा छुट्टाछुट्टै घर बनाएर यही पेसा गरेर परिवार पालेका छन् । 

    सिन्धुलीमाढीमा महोत्तरीका मात्रै १५ जनाभन्दा बढी छन् । उनीहरु सबैको आर्थिक अवस्था नाजुक छ । जुत्ता, चप्पल सिलाउन चाहिने सामान्य सामान पनि सिन्धुलीमा पाइँदैन । जनकपुर, काठमाडौं या त भारतका बजारमा लिन जानुपर्छ । स्थानीय सरकारले बस्ने ठाउँको उचित व्यवस्थापन गर्नेतर्फ चासो राखेको छैन । कर भने हरेक साताको शनिबार ५० रुपैयाँका दरले लिने गरेको महोत्तरीको औरही नगरपालिका ६, बैरियाका नागेन्द्र रामले (३७ वर्ष) बताए ।

    यसैगरी, सार्वजनिक शौचालय प्रयोग गरेबापत प्रत्येक दिन प्रतिव्यक्ति बीस रुपैयाँ तिर्नुपर्ने उनले जानकारी दिए । सरकारले जीविका धान्न सडकमा बसेर जुत्ता, चप्पल सिलाउने व्यवसायीहरुको सीपलाई सम्मान नगरेको उनको भनाइ छ । यो र यस्तै सीपलाई व्यवस्थापन, संरक्षण, प्रवर्द्धन गर्न सके स्थानीय स्तरका धेरै युवाले रोजगारी पाउने उनको धारणा छ । यसतर्फ कसैको ध्यान जान नसकेको उनले बताए । 

    नागेन्द्रले सिन्धुलीमा यसरी जुत्ता सिलाउँदै आएको २६ वर्ष बित्यो । परिवारको दैनिक खर्च टार्न जुत्ता, चप्पल मर्मत गर्न थालेको बताउँदै उनले भने, ‘खेतबारी छैन, पेट पाल्नका लागि जसरी भए पनि कमाउनै पर्‍यो ।’ 

    उनले जुत्ता मर्मत गरेर दैनिक चार सयदेखि एक हजार रुपैयाँसम्म कमाउँछन् । त्यही कमाइले कोठाभाडा तिर्न, खानेकुरा जुटाउन, लुगा लगाउन, छोराछोरी पढाउन, बिरामी हुँदा औषधि, उपचार गर्नलगायतका लागि खर्च पुर्‍याउनु पर्ने उनले बताए । जुत्ता, चप्पल सिलाउने सियोदेखि आवश्यक कच्चा पदार्थसम्म बाहिरबाट महँगो मूल्य तिरेर ल्याउनुपर्ने र सेवाग्राहीले यसको मर्म नबुझिदिने उनको गुनासो छ ।

    यो रामहरुको पुर्ख्यौली पेसा नै हो । आर्थिक र व्यावसायिक तालिमको अभावमा उनीहरुको पेसाले सम्मान पाउन सकेको छैन । उनीहरुको सीपलाई संरक्षण तथा प्रवर्द्धन गरी व्यावसायिक रुपमा अगाडि बढाउन सके थप रोजगारीको सिर्जना हुने थियो । साथै, आम्दानी बढ्ने हुँदा उनीहरुको दैनिक जीविकामा सहयोग पुग्ने व्यवसायीहरु बताउँछन् । -रासस

  • सम्बन्धित विषय:

  • # सम्मान

  • तेस्रो आँखा
    लेखकबाट थप