महोत्तरी, कात्तिक ११ । महोत्तरीको भङ्गाहा नगरपालिका–८ मा हिजोदेखि लगाइएको कर्फ्यु अवस्था सामान्य भएपछि मात्रै हटाउने जिल्ला प्रशासन कार्यालयले तयारी गरेको छ । हिजो दिउँसो दुई पक्षबीच भएको झडपपछिको स्थितिलाई नियन्त्रमा लिन दिउँसो ४ बजेदेखि कर्फ्यु लगाइएको छ । कर्फ्यु लगाइएपछि अहिले स्थिती सामान्य हुँदै गएको र खुलाउने विषयमा आज राजनीतिक दलहरुसँग छलफल गर्ने तयारी भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले बताए ।
उनका अनुसार छलफल गरेर सहमतीमा पुगेपछि मात्रै कर्फ्यु हटाउने प्रशासन कार्यालयको तयारी छ । कार्यालयले नगरपालिकाको वडा नम्बर–८ को दक्षिणमा पूरै पडरिया गाउँ, उत्तरमा धर्मपुर, पूर्वमा लोहारपट्टीको बगडा चोक र पश्चिममा इलाका प्रहरी कार्यालय लोहारपट्टी नजिकै रहेको पुलसम्म हिजो दिउँसो ४ बजेदेखि अनिश्चितकालसम्मका लागि कर्फ्यु लगाएको हो । झडपमा परेर १३ जना घाइते भएका थिए ।
