दाङमा निर्वाचनको माहोल तातेको छ । उम्मेदवारहरु आआफ्ना एजेण्डा लिएर गाउँ केन्द्रीत बनेका छन् । यसैक्रममा दाङ क्षेत्र नम्बर २ (२) पनि गठबन्धनमा आवद्ध दलका नेता, कार्यकर्ता तथा उम्मेदवारहरुले चुनावी दौड तिब्र बनाएका छन् । यो प्रदेशसभा क्षेत्रको जनमत गठबन्धनको पक्षमा पल्लाभारी हुने दाबी यो प्रदेशसभा क्षेत्रका कांग्रेस क्षेत्रीय सभापति अभियान बस्नेतको दाबी छ । यो क्षेत्रका चुनावी कमाण्डर बस्नेतसंग गठबन्धनको चुनावी अभियानका बारेमा तेस्रो आँखाले कुराकानी गरेको छ ।
चुनावी अभियान कसरी चलिरहेको छ ?
अहिले हामीहरु प्रत्यक मतदाताहरु संग संवाद, छलफल, कुराकानी गरिरहेका छौँ । मतदाताहरुको घरघरमै पुगेर उहाँहरुका गुनासा, आक्रोश, असहमती अनि सुझावहरुलाई ग्रहण गरिरहेका छौँ । किनकी मतदाताहरुका समस्या सम्बोधन गर्ने बाहकका रुपमा हामीहरु गाउँ केन्द्रीत बनेका छौँ । यससंगै चुनावी सभा, भेलाहरु आयोजना गरेर सबै मतदाताहरुलाई अग्रगमनको पथमा लाग्न अनुरोध गरिरहेका छौँ । हामीहरुले हाम्रो क्षेत्रका १२ वटै वडाहरुमा समय तालिका मिलाएर त्यहाँका मतदाताहरुसंग भेट गर्ने काम गरिरहेका छौँ । उहाँहरुका गुनासा सुनेका छौँ,पीडा बुझेका छौँ र समस्या समाधानको अठोट पनि गरिरहेका छौँ ।
समग्रमा मतदाताहरुको ‘आवाज’ के छ ?
मुलुकमा ब्यवस्था बदलियो , तर त्यहि ब्यवस्था बदल्ने आमनागरिकको अवस्थामा कुनै फेरबदल आएन । नागरिकले पाउनु पर्ने मौलिक अधिकार अहिले सम्म नागरिकको दैलो सम्म पुग्न सकेन । फलतः मतदाताहरुले अहिले पनि आफुहरुका आधारभुत आवश्यक्ता प्राप्तीमै जोड दिईरहनु भएको छ । पटक पटक मतदान गरेर जनप्रतिनिधि चुनिएपनि आफुहरुका समस्या यथावतै रहेका छन्, अब यो राजनीतिले केहि गर्न सक्दैन भन्ने आक्रोश पनि मतदाताहरुमा छ ।
अहिले पनि हिँजोका जस्तै मतदाताहरुमा बाटो घाटोको पिरलो छ , मल बिउको चिन्ता छ , खानेपानीको सहज आपूर्तिको प्रतिक्षा छ , शिक्षा स्वास्थ्यको सहज पहुँच नहुँदाको चरम आक्रोश छ। अब मतदाताहरुले हिँजोको परिस्थती हैन, गर्न सक्ने दृढता बोकेका प्रतिनिधिलाई चयन गर्ने अठोट लिएर बसेको पाईएको छ ।
र मतदाताहरुको यो निर्णय सकारात्मक पनि हो। अब बोलीमा भन्दा पनि गर्न सक्ने हिम्मत र शाहस भएका प्रतिनिधिहरु चयन हुनै पर्छ , अन्यथा फेरी पनि जनताका आधारभुत आवश्यक्ता प्राप्तीको अधिकार कुण्ठित हुने छ । फलत : आम मतदाताहरुको चासो, गुनासो र अपेक्षालाई सम्बोधन गर्न सक्ने क्षमतावान उम्मेदवारहरु अहिले गठबन्धका तर्फबाट चुनावी मैदानमा हुनुहुन्छ ।
त्यो सक्षमता गठबन्धनका उम्मेदवारहरुमा छ ?
स्वाभाविकै रुपमा मतदाताहरुले स्थायी सरकार चाहेको अवस्था छ । अहिले सम्मका अस्थायी सरकारकै कारण नागरिकको दैलो सम्म आधारभुत अधिकार नपुगेको यथार्थतालाई मतदाताहरुले बुझेको अवस्था छ । अब स्थायी सरकार बन्ने भनेको वर्तमान सत्ता गठबन्धनकै हो भन्ने बुझाईमा मतदाताहरु हुनुहुन्छ । अनि अर्को कुरा अहिले हाम्रो क्षेत्रमा प्रतिनिधिसभा सदस्यको उम्मेदवार एक सक्षम महिला हुनुहुन्छ । रेखा शर्मा दुई दुई पटक सांसद बन्नु भयो, एक पटक मन्त्री बन्नु भयो ।
उहाँको संसद र मन्त्री कार्यकालमा उहाँ माथि कुनै प्रकारको गुनासो रहने ठाउँ भएन । उहाँको यो शालिनताले मतदाताहरुको मन जितेको छ । यसैगरि प्रदेशसभामा उम्मेदवार बनेका प्रचण्डबिक्रम न्यौपाने लामो समय विद्यार्थी राजनीति गरेर पार्टी राजनीतिमा आएको जुझारु युवा नेता हुनुहुन्छ । आमनागरिकका मौलिक अधिकार प्राप्तीका लागि योगदान गर्न सक्ने एक सक्षम युवा प्रतिनिधि हो उहाँ । यसर्थ मतदाताहरुमा पनि हाम्रा उम्मेदवारहरुलाई सक्षम र जुझारु प्रतिनिधिहरु भन्ने बुझाई भएको छ । यिनीहरुले काम गर्न सक्छन् भन्ने बिश्वास गहिरिँदै गएको छ । र नागरिकका आधारभुत आवश्यक्ता पूर्ति गर्न सक्ने ल्याकत राख्ने उम्मेदवार उहाँहरु हो पनि ।
तपाइँ त्यो क्षेत्रको चुनावी कमाण्डर हो, कमाण्डरलाई चुनावी नतिजा आफ्नो पक्षमा कसरी पार्ने भन्ने चुनौती त होला नि हैन ?
स्वाभाविकै रुपमा कांग्रेसको क्षेत्र नम्बर २ (२) को सभापति र अहिलेको गठबन्धनको संयुक्त चुनाव प्रचार प्रसार समितिको संयोजक भएका नाताले यो निर्वाचनलाई कसरी गठबन्धनका उम्मेदवारहरुको पक्षमा पार्ने भन्ने चिन्तन रहन्छ नै । तर मेरो मात्रै भन्दा पनि हाम्रो सिंगो प्रदेश क्षेत्रीय समिति, कांग्रेसका सबै नेता कार्यकर्ता साथीहरु, गठबन्धनमा आवद्ध सबै दलका नेता कार्यकर्ता साथीहरुमा पनि यो चिन्तन छ ।
तर हामीहरु चुनावी को ठूलो हिस्सालाई गठबन्धनको पक्षमा पार्नका लागि चिन्तनमा छौँ, मैले यसलाई चुनौतीको रुपमा लिएको छैन । चुनौती त्यो बेला महशुस हुन्छ, जतिबेला चुनावी परिणाम आफ्नो पक्षमा रहन्न कि भन्ने आशंका रहन्छ । तर हामीहरु त्यो आशंकामा छैनौँ । मतदाताहरुको ईच्छा हाम्रा उम्मेदवारहरु प्रति अधिक रुपमा प्रकट भएको छ । यसर्थ हामीले हाम्रो सहज जीत देखिसकेका छौँ ।
भनेको अर्को शक्ति त्यति कमजोर देखिएको हो ?
मूलतः मतदाताहरुले हरेक निर्वाचनलाई बिकाससंग जोडेर हेर्छन् । निर्वाचनले नै गाउँ गाउँमा बिकास ल्याउने बचन दिएको हुन्छ । मतदाताहरुमा त्यो आशा अधिक रुपमा चुलिएको हुन्छ । तर निर्वाचन पछि पनि परिवर्तन भएन भने त्यहाँ मतदाताहरुमा निराशा चुलिन्छ, सम्बन्धित उम्मेदवार र उसको राजनीतिक दल प्रति आक्रोश उत्पन्न हुन्छ ।
अहिले मतदाताहरुको मनोभावमा यसैले काम गरिरहेको छ । अघिल्लो निर्वाचनबाट निर्वाचित प्रतिनिधिका रुपमा रहेका एमालेका शंकर पोख्रेलको योगदान के ? यो मेरो प्रश्न हैन, यो आम मतदाताहरुले उठाएको आवाज हो ? सडक चौडा पार्ने नाममा अर्थात फोरलेन सडक विस्तारको योजना मुख्यमन्त्री भैसकेका पोख्रेलले किन पुरा गर्न नसक्ने ? यो मेरो प्रश्न हैन, आम मतदाताहरुले खोजिरहेको जवाफ हो । नारायणपुर क्षेत्रमा एयरपोर्ट निर्माणको निकै ठूलो हल्ला फैलाईयो ।
तर अहिले सम्म त्यसको जग सम्म बस्न सकेन, अलपत्रै भयो । खोई शंकर जि ले ललीपप देखाएको अन्तर्राष्ट्रिय बिमानस्थल ? यो पनि मेरो प्रश्न हैन, मतदाताहरुको प्रश्न हो । यिनै प्रश्नहरुले अघिल्लो निर्वाचनबाट बनेको शक्तिलाई अहिले कमजोर बनाउने निश्चित जस्तै छ । यसर्थ अहिलेको निर्विकल्प रोजाई भनेकै गठबन्धन हो, गठबन्धनका उम्मेदवारहरु हुन् ।
गठबन्धनमा अवद्ध दलहरु बिचको अन्तरघुलन कस्तो छ नि ?
अहिले हामीहरुले गरिरहेका मतदाता केन्द्रीत कार्यक्रमहरु अन्तर्गत घरदैलो, चुनावी सभा जस्ता कार्यक्रमहरुमा गठबन्धनमा आवद्ध सबै दलका नेता कार्यकर्ता साथीहरु सकृय भएर सहकार्य गरेर लागि रहेका छौँ । यो सहकार्यले एक आपसमा अन्तरघुलनको वातावरण निकै कसिलो बनेको छ । र आगामी निर्वाचनमा गठबन्धनको कार्यान्वयनको पाटो निकै बलियो बन्ने निश्चित छ ।
हिँजो स्थानीय तहको निर्वाचन गठबन्धन कार्यान्वयनको पहिलो चरण थियो, त्यो बेला सामान्य समस्याहरु देखिए । तर गठबन्धन राष्ट्रिय आवश्यक्ता हो भन्ने बुझाई सबै मतदाताहरुमा छ । प्रतिगमनलाई परास्त गरेर अग्रगमनको बाटोमा मुलुक अघि बढे मात्रै आफूहरुका आधारभुत मौलिक अधिकार प्राप्ती हुन्छ भन्ने यथार्थतालाई सबैले मनन गरिसकेको अवस्था छ । फलतः आगामी निर्वाचनमा गठबन्धन निकै बलियो बन्छ ।
