- तेस्रो आँखा डेस्क
काठमाडौं, पुस ३ । कांग्रेस नेता एनपी साउद कांग्रेसको १४ औँ महाधिवेशनमा महामन्त्रीको उम्मेदवार बन्ने रेसमा थिए । केही वर्ष देखि महामन्त्रीको तयारी गरिरहेका साउदलाई कार्यकर्ताहरुले समेत सम्भावित भावी महामन्त्रीका रुपमा हेरेका थिए ।
तर सभापति शेरबहादुर देउवा समूहका उनलाई देउवाले टेरेनन् । महामन्त्रीको उम्मेदवार नबनाएर साउदलाई केन्द्रीय सदस्यको उम्मेदवारमा झारिदिए । तर देउवाले नपत्याएका उनै साउद ‘पपुलर’ मतसहित खुला केन्द्रीय सदस्यको दोस्रो नम्बर कायम गरिरहेका छन् ।
त्यो पनि चारवटा प्यानलको साझा उम्मेदवार बनेका डा. शशांक कोइरालालाई उनले पछ्याईरहेका छन् । चारवटा प्यानलका साझा उम्मेदवार कोइरालाले ९८८ मत गणना हुँदा ८१४ मत पाएका छन् भने देउवाले महामन्त्रीमा नपत्याएका साउदले ६३१ मतसहित कोइरालालाई पछ्याईरहेका छन् ।
महामन्त्रीको रेसका साउदलाई देउवाले कृष्ण सिटौलासँगको साँठगाँठका कारण धोका दिएका थिए । सिटौलालाई आफ्नो समूहमा ल्याउनका लागि सहमती गरेका देउवाले साउनलाई हटाएर सिटौला पक्षीय प्रदीप पौडेललाई महामन्त्रीको उम्मेदवार बनाएका थिए।
