• ट्रेण्डिङ्ग :
खोलामा फोहोरको डंगुर 

खोलामा फोहोरको डंगुर 


  • 2.0K
    SHARES
    • जेठ १०, २०८० बुधबार
    • ३ बर्षs अघि
    • 3.0K Views

    खोलामा फोहोरको डंगुर 

    तुलसीपुर, १० जेठ । तुलसीपुर उपमहानगरपालिका वडा नंं ५ र ९ को बीचमा पर्ने पातुखोलामा राती राती फ्याँकिने फोहोरका कारण दुर्गन्धित मात्रै बन्दै छैन, बेलुवा आसपासमा स्थानीयलाई दुर्गन्धकै कारण बस्न सक्ने अवस्था छैन । त्यति मात्रै होइन खोलामा विभिन्न किसिमका प्लाष्टिकजन्य फोहोरका साथै सिसाका टुक्रा, वियरका बोत्तल, कुहिएको तरकारी, मरेको सिनो सबै खोलामा फ्याँकिने भएका कारण पनि खोलाको बाटो भएर हिड्नसमेत स्थानीयलाई समस्या भएको छ । उक्त बाटो भएर बजार आउ जाउ गर्नेलाई मुख छोपेर हिड्नु पर्ने वाध्यता छ । बजारबाट समेत बोराका बोरा फोहोर रिक्सामा लगेर पातुखोलामा फाल्ने गरेका कारण पनि तुलसीपुरको बसपार्क र पातुखोला आसपासको क्षेत्रमा फोहोर व्यवस्थापनमा चुनौति बढ्दै गएको छ ।

    images

    बेलुवाका स्थानीयहरु सुतेपछि बाहिरका मानिसहरुले उक्त खोलामा फोहोर फ्याँक्ने गरेका छन् । तुलसीपुर उपमहानगरपालिकाले ८÷१० दिनमा एक पटक मात्रै उक्त क्षेत्रमा फोहोर संकलन गर्ने गरेको छ । अन्य दिनका फोहोर जतिसोही खोलामा फ्याँकिने गरेको छ । यसरी बसपार्क र बेलुवाको बीचमा रहेको पातुखोलामा फोहोर फ्याँकिने हुँदा त्यसको दुर्गन्धले गर्दा आफुहरुलाई घरमा समेत बस्न समस्या भएको अमृतनगर टोल विकास संस्थाका सचिव सन्ध्या केसीले गुनासो गरिन् । खोलामा फोहोर बढेसंगै त्यसको दुर्गन्धले गर्मी र बर्खायाममा लामखुट्टे बढ्ने भएकाले विभिन्न किसिमका सरुवा रोगको जोखिम पनि भएको उनले बताइन् ।

    दिउँसोको समयमा फोहोर फाल्न आउँनेलाई आफुहरुले फोहोर फाल्न नदिए पनि रातीको समयमा बजार आसपासका बासिन्दाले फोहोर खोलामा फाल्ने गर्दा पनि अझ बढी समस्या भएको केसीले बताईन् । उपमहानगरपालिकाले एक हप्ता पछि, कहिले १०, १२ दिनमा मात्रै फोहोर संकलनको लागि गाडी पठाउने भएकाले पनि खोलामा फोहोर फाल्नेको संख्या बढेको उनले बताईन् । ‘पातुखोलाको फेहोरका कारण हाम्रो घर बेलुवामा हो, भन्न पनि लाज लाग्ने अवस्था आएको छ, केसीले भनिन् फोहोर व्यवस्थापनको लागि उपमहानगरपालिकाले पनि चासो दिन जरुरी छ’ ।346118670_683523543487235_7559002630264398205_n.jpg

    के हुँदै छ फोहोर प्रशोधनको प्रक्रिया
    तुलसीपुर उपमहानगरपालिका र ईनरिच नेपाल प्राइभेट लिमिटेड बीच तुलसीपुरबाट उत्पादन हुने फोहोरलाई व्यवस्थापन गर्नको लागि प्रशोधन केन्द्र सञ्चालन गर्ने सहमति भएपनि काम अगाडी बढ्न सकेको छैन् । फोहोरलाई प्रशोधन गरेर पुनः प्रयोगमा ल्याउने गरि काम गर्नको लागि उपमहानगरपालिकाले ईनरिच नेपाल प्राइभेट लिमिटेडलाई अनुमति दिने सहमति भए पनि विभिन्न प्रक्रिया मिलाउने काममा ढिला सुस्ती हुँदा फोहोर प्रशोधनको काम अगाडी बढ्न नसकेको ईनरिच नेपालका कोडिनेटर बिजय थापाले बताए । फोहोरलाई प्रशोधन गरेर कुहिने फोहोरलाई मल बनाउने र नकुहिने फोहोरलाई पुनः प्रयोग गर्न मिल्ने सामान, ईट्टा बनाउने ईनरिच नेपालको योजना छ । फोहोरलाई प्रशोधन गर्ने जग्गा पनि कम्पनी आफैले खोज्ने छ ।

    फोहोर प्रशोधन केन्द्र भएको ठाउँका स्थानीयहरुलाई समस्या नहुने गरि आफुहरुले काम गर्ने र उक्त क्षेत्रमा सुन्दर वाटिका बनाउने कम्पनीको तयारी भएपनि काम अगाडी बढ्न नसक्दा अन्यौलता उत्पन्न भएको थापाले बताए । फोहोर मैला फाल्ने ठाउँ भनेपछि सबैले नराम्रो नै हुन्छ भन्ने सोच्न हुन्छ, तर हामीले उक्त स्थानलाई कुरुप बनाउँदैनौ थापाले भने– हामी आफै लगानी गरेर तुलसीपुर क्षेत्रबाट उत्पादन हुने ९५ प्रतिशत फोहोरलाई पुनः उपयोग गर्ने बनाउँछौ । उनका अनुसार फोहोरलाई प्रशोधन गर्ने प्रक्रिया सुरु भएमा बजार सुन्दर हुनुका साथै स्थानीयवासिले पनि रोजगारी पाउँने छन् । त्यसको लागि उपमहानगरपालिकाले फोहोर प्रशोधन केन्द्र बनाउँदा हुने फाइदाको बारेमा स्थानीयहरुलाई बुझाउन पर्ने उनले बताए ।348872017_3424337497791056_5291092283930001053_n.jpg

    जग्गा विवादले समस्या
    तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काले फोहोर प्रशोधन गर्नको लागि जग्गा नपाएकाले काम अगाडी बढाउन समस्या भएको बताए । ‘ईनरिच नेपााले जग्गा खोज्नु भएको थियो हामीले बाँकी प्रक्रिया पुरा गर्दै थियौं तर उक्त स्थानमा गैर स्थानीय आएर विरोध गर्नुभयो, फोहोर व्यवस्थापन गर्ने काममा राजनीति गर्न खोजियो त्यस कारण समस्या भएको हो’ मेयर खड्काले भने ।

    व्यक्तिगत जग्गा लिजमा लिएर काम गर्न खोज्दा समेत केही व्यक्तिहरु छिमेकीको नाटक गरेर फोहोर राख्दा प्रदुषण हुन्छ भनेर विरोध गरेकाले काम अगाडी बढ्न नसकेको खड्काले बताए । तर आफुहरु जग्गा मिलाउने प्रक्रियामै रहेको उनले बताए । स्थानीयहरु फोहोर प्रशोधन केन्द्र आएमा रोजगारी पाउँछौ भनेर खुशी भएको अवस्थामा सरोकार भन्दा बाहिरका केही व्यक्तिले राजनीतिक गर्न खोजेको उनले गुणासो गरे । तर आफुहरु जग्गा खोज्ने प्रक्रियामै रहेको उनले बताए ।


    तेस्रो आँखा