• ट्रेण्डिङ्ग :
प्रधानमन्त्रीको भारत भ्रमण : पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा झनै निराशा

प्रधानमन्त्रीको भारत भ्रमण : पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा झनै निराशा


  • 7.4K
    SHARES
    • जेठ १९, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 11.4K Views

    प्रधानमन्त्रीको भारत भ्रमण : पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा झनै निराशा

    पोखरा, १९ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' बुधबार भारत भ्रमणमा जाँदै गर्दा पोखरामा एसिया प्रशान्त क्षेत्रको वार्षिक शिखर सम्मेलन तथा एडभेन्चर मार्ट चल्दै थियो । ‘प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)’ को सम्मेलनको विभिन्न सेसनमा आइरह्यो– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ।

    images

    यता सम्मेलनमा विमानस्थलका कुरा आउनु, उता प्रधानमन्त्रीको भारत भ्रमण हुनु । सम्मेलनमा सहभागी पोखराका पर्यटन व्यावसायी तथा पाटा इन्टरनेसनल सदस्य टीकाराम सापकोटा भन्छन्, “विमानस्थल बनिसकेपछि अन्तर्राष्ट्रिय उडान हुनुपर्ने कुरा सम्मेलनमा उठ्यो, प्रधानमन्त्रीको भारत भ्रमणपछि नेपालले अब एयर रुट पनि पाउनेछ र अन्तर्राष्ट्रिय उडान छिट्टै हुन्छ भन्ने हामीलाई ठुलो आशा थियो ।”

    तर, प्रधामन्त्री प्रचण्डले पत्रकार सम्मेलनमा एयर रुट पाएको भनेर भनेनन् । “नेपालले थप एयर रुटका लागि पनि आग्रह गरेको थियो । एटीआर विमानका लागि द्विपक्षीय फ्लाइटका लागि भारतले दिएको सकारात्मक संकेतलाई नेपालले स्वागत गरेको छ,” प्रधामन्त्री प्रचण्डले भने ।

    पत्रकार सम्मेलनमा प्रचण्डले एयर रुट नपाएको भनिरहँदा पाटाको सम्मेलनमा आशावादी बनेका पर्यटन व्यवसायी भने निराश बने । कास्कीको ढिकुरपोखरीमा जन्मिएका प्रचण्डले पोखरामा नै अर्बौं ऋणमा बनेको विमानस्थललाई सञ्चालन गर्नका लागि एयर रुटको कुरा गर्नेमा पोखरेली आशावादी थिए ।

    पोखरा महानगरपालिकामा सार्वजनिक बिदा नै दिएर विमानस्थलको तामझामका साथ उद्घाटन गरेको ५ महिना बितेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई भारतले आफ्नो आकाशमा एयर रुट र एयर स्पेस नदिँदा आजसम्म आन्तरिक उडानमा सीमित छ ।

    प्रचण्ड भन्दा अगाडि नै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को टोली पनि एयर रुटको विषयमा छलफल गर्न भारत नगएको भने होइन । तर, कर्मचारी तहको संवादलाई भारतले वास्ता नै गरेन ।

    प्रधानमन्त्रीको भारत भ्रमणकै क्रममा केही हुने अपेक्षा धेरैमा थियो । पोखराका पर्यटन व्यवसायी देखि विमानस्थल बनाउन आन्दोलन गर्ने, मार्चपास गर्नेहरूले पनि प्रचण्डको भारत भ्रमणलाई लिएर उत्साही र विश्वस्त थिए ।

    प्रचण्डलाई भेटेर नै केही दिन अघि पोखराका पर्यटन व्यवसायीले एयर रुटको टुंगो लगाएर अन्तर्राष्ट्रिय उडान सुरु गर्न माग गरेका थिए । त्यसकारण पनि सबैभन्दा बढि पोखरेली अपेक्षामा थिए ।

    भारतमा प्रचण्डले एयर रुटको कुरा नउठाएका पनि होइनन् ।

    नेपालले महेन्द्रनगर, नेपालगञ्ज, भैरहवा, विराटनगर र जनकपुरबाट प्रवेश विन्दुसहित एयर रुट माग गर्दै आएको छ । भारतले नेपालबाट उड्ने विमानलाई महेन्द्रनगर, नेपालगञ्ज, भैरहवा, विराटनगर र जनकपुरबाट आफ्नो आकाशमा प्रवेश गर्न रुट खुला राखेको छ । ती विन्दुबाट नेपाल प्रवेश गर्ने अनुमति दिन भने वर्षौंदेखि आनाकानी गरिरहेको छ ।

    कम्तीमा एउटा रुट पाउनेमा आशावादी रहे पनि भारतले तत्कालका लागि एयर रुटको विषयमा केही निर्णय गर्नै चाहेन ।

    कारण, चीनले बनाइदिएको विमानस्थललाई भारतले ‘भूराजनीतिक दृष्टिकोण’बाट हेर्छ । एयर रुट नपाउनुको एउटा कारण यो पनि हुनसक्ने बताउँछन्, आनन्दराज मुल्मी । मुल्मी नेपाल उद्योग वाणिज्य महासंघका पूर्वाध्यक्ष हुन भने पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्छ भनेर दबाब दिने नागरिक समूहको अगुवा पनि हुन् ।

    प्रधानमन्त्री नै गइसकेपछि कम्तीमा एउटा एयर रुट पाउनेमा ढुक्क रहेका उनी पनि अहिले निराश छन् । भारतले पोखराको विमानस्थललाई चिनियाँ नजरले मात्रै नहेर्ने, सुरक्षाका दृष्किोणबाट पनि यो विमानस्थल भारतको प्राथमिकतामा नपर्ने उनको तर्क छ ।

    “विमानस्थलको संरचनामाथि पनि प्रश्न उठिरहेको छ । नागरिकका लागि बनाइएको पोखरा विमानस्थलमा किन ढलान भयो ? ढलान गर्ने विमानस्थल त आर्मी प्रयोजनका लागि मात्र हुन्छ भनेर उनीहरूले (भारतीय) प्रश्न उठाइरहेका छन्,” उनले भने, “उनीहरूले के सम्म सोचेका छन् भने भोलि कथंकदाचित चीन र भारतबीच युद्धका आशंका भयो भने, चिनियाँहरू ल्हासाबाट १०/१२ मिनेटमा नै पोखरा आउँछन् । पोखराबाट २० मिनेटभित्रै भारतीय सेनाको बेसक्याम्पसम्म पुग्न सक्छन् भने आशंका उनीहरूको छ ।”

    यति मात्र नभई नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) कै कमजोरीका कारण पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान चासोमा नपरेको उनको भनाइ छ ।

    सञ्चालनमा आइसके पनि विमानस्थलको हालसम्म ‘बिजनेस प्लान’ छैन । “बिजनेस प्लान नभईकन विमानस्थल सञ्चालन गरेपछि यहाँबाट कहाँ जहाज जाने हो, कहाँकहाँबाट यहाँ आउने हो, कति व्यापार गर्ने हो, सरकारले भन्न सकेको छैन, यो क्यानको कमजोरी हो,” उनले भने ।

    त्यसबाहेक विमानस्थल बनाउने बेलामा नै ग्राउण्ड लेभल घटाइएको उनको भनाइ छ । 'विमानस्थल बनाउँदा ग्राउन्ड लेभल बढाइनुपर्ने थियो, तर यहाँ घटाइयो । यसले गर्दा रिठेपानी डाँडा कटान गर्नुपर्‍यो । अर्को कुरा, ग्राउन्ड लेभल घटाइएपछि फुल क्यापासिटीमा विमान ल्यान्ड गर्नमा समस्या पर्छ भन्ने आएको छ,' उनले भने ।

     

     


    तेस्रो आँखा