तेस्रो आँखा काठमाडौं, ५ पुस काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३.६ डिग्रीसेल्सियस मापन गरिएको छ ।
आइतबारको भन्दा ०.६ डिग्रीसेल्सियसले तापक्रममा सुधार आएको हो । आइतबार काठमाडौंको न्यूनतम तापक्रम ३ र अधिकतम तापक्रम १७.४ डिग्रीसेल्सियस मापन भएको थियो । अधिकतम तापक्रम दिउँसो मात्र थाहा हुन्छ । तर आज न्यूनत तापक्रममा हल्का सुधार आएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मञ्जु वासीले भनिन् यसको अर्थ अब तापक्रम घट्दैन भन्ने होइन । हिउँद गहिरिदै जाँदा चिसो अझ बढ्छ ।
काठमाडौंमा मंसिर दोस्रो सातादेखि चिसो बढ्न थालेको हो। देशभर चिसो बढेको छ । सबैभन्दा कम तापक्रम जुम्लामा मापन भएको छ । जुम्लामा न्यूनतम तापक्रम माइनस ६ डिग्रीमा झरेको छ । तराईमा हुस्सु र कुहिरो लाग्ने गरेको छ । महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय प्रणालीको प्रभाव रहेको छैन । दिउँसो बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक बदली रहनेछ । मंगलबार उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना छ ।
