लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याणमन्त्री ईन्द्रजीत चौधरीले प्रदेशको स्वास्थ्य क्षेत्र सुधारका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन् । तेस्रो आँखासंगको कुराकानीमा मन्त्री चौधरीले स्वास्थ्य क्षेत्रका बिद्यमान समस्या समाधान गरेर स्वास्थ्य सेवा माथि हरेक नागरिकको पहुँच कायम गरिने बताए । उनले प्रदेशका हरेक जिल्लाहरुमा स्वास्थ्य शिबिर सञ्चालन गरेर बिशेषज्ञ उपचार सेवा प्रदान गरिने बताए ।
‘चिकित्सकहरु ठूला शहर अनि ठूला अस्पतालमा मात्रै केन्द्रीत भएको समस्या छ,’ मन्त्री चौधरीले भने ‘चिकित्सकहरुको समानुपातिक वितरण गर्नु मेरो पहिलो प्राथमिकता हो, यसर्थ हरेक जिल्लामा स्वास्थ्य शिबिहरु सञ्चालन गरेर बिशेषज्ञ सेवा हरेक जिल्लामा प्रदान गरिने छ ।’ उनका अनुसार चिकित्सकहरु ठूला अस्पतालमा मात्रै थुप्रिने समस्या रहेको र यो समस्या कायमै रहे दुर्गमका नागरिकले स्वास्थ्य सेवा सहज तरिकाले पाउन नसक्ने बताए ।
इसैगरि उनले प्रदेश सरकार मातहतका सरकारी अस्पतालहरुमा चिकित्सकहरु आउनै नमान्ने गरेको समेत बताए । चिकित्सक नियुक्तीका लागि दरखास्ता आह्वान गर्दा समेत चिकिस्कहरुको दरखास्त नपरेको उनले सुनाए । ‘चिकित्सकहरको दरखास्ता आह्वान गर्दा पनि दरखास्त नआउने समस्या छ,’ उनले भने ‘यसले के देखाउँछ भने सरकारी अस्पतालहरु प्रति चिकित्सकहरुको उत्साह छैन ।’ उनको यसको कारण भनेकै उनिहरुको सेवा सुविधा हो । सरकारी अस्पतालमा काम गर्दा सेवा सुविधा कम हुन्छ भन्ने मानसिकताका कारण डाक्टरहरु सरकारी अस्पतालमा काम गर्न ईच्छुक नहुने गरेको बताए ।
सरकारी अस्पतालमा जनशक्ति ब्यवस्थापन गर्नका लागि डाक्टरहरुको सेवा सुविधा सरकारले हेरफेर गर्ने बताए । ‘डाक्टरहरु सरकारी अस्पतालमा आउन नमान्नुको एक मात्रै कारण भनेको सेवा सुविधा कम भयो भन्ने नै हो,’ मन्त्री चौधरीले भने ‘सरकारले सेवा सुविधाको ब्यवस्थापन गरेर डाक्टरहरुलाई सरकारी अस्पतालमा काम गर्ने वातावरण मिलाईने छ ।’
यसैगरि मन्त्री चौधरीले कोरोनाको सम्भावित तेस्रो लहरको सामना गर्न प्रदेशका अस्पतालहरु सक्षम रहेको बताए । सबै अस्पतालहरु कोरोनाको सम्भावित तेस्रो लहरको जोखिम प्रति सचेत रहेको भन्दै उपचारसेवाका लागि तयारी अवस्थामा रहेको बताए । ‘कोरोनाको सम्भावित तेस्रो लहरको जोखिम टार्नका लागि प्रदेशका अस्पतालहरु पूर्णरुपमा सक्षम छन्,’ उनले भने ‘कोरोनाको अर्को लहरलाई मध्यनजर गर्दै सबै अस्पतालहरुले आवश्यक तयारी गरिसकेका छन् ।’
