दाङ, ०२ असार । दाङमा शनिबार दिउँसो एक घरमा आगलागी भएको छ । राप्ती गाउँपालिका–९ लामाखोलाका कुविर घर्ती मगरको एक तले फुसले छाएको घरमा आगलागी भएको हो।
घर नजिकै रहेको वनबाट घरमा आगो सल्किएपछि घरमा भएका सम्पूर्ण सामान जलेर नष्ट भएको वडा नम्बर ९ का वडा अध्यक्ष रिम बहादुर सुनारी मगरले जानकारी दिए ।
दिउँसो करिब १२ बजेतिर लागेको आगोलाई स्थानीयको सहयोगमा एक घण्टा पछि नियन्त्रणमा लिइएको थियो ।
आगो नियन्त्रणमा आए पनि घरभित्र रहेका अन्नपात, लत्ताकपडा लगायतका सामाग्रीहरु पूर्ण रुपमा जल्दा अन्दाजी ३ लाख बराबरको क्षति भएको पिडीत घर्तीले जानकारी दिए ।
दाङमा प्रायः जंगलको आसपासमा रहेका खरले छाएका घरमा आगलागी हुने समस्या रहेको छ। फुसले छाएका घरहरु हटाउने अभियानमा यहाँका जनप्रतिनिधि लागिपरेका छन् ।
