काठमाडौं, ०२ असार । नेपालीमुलका रीना(रन्जीता) गुरुङ अमेरिकाको न्यूयोर्क सिटी सिभिल कोर्टको न्यायाधीशमा पदोन्नती भएकी छन् । उनी अमेरिकामा नेपाली समुदायबाट सम्भवः पहिलो नेपाली महिला न्यायाधीश हुन् ।
रन्जीताले गत विहीबार ब्रोकलाइन हाईकोर्टमा आयोजित समारोहमा पद तथा गोपनियताको शपथ ग्रहण गरेकी थिइन् । कार्यक्रममा अमेरिकन र नेपालीहरु गरी झण्डै ३०० जनाको सहभागिता थियो ।
रीनाका परिवार कान्छा बाबा कमल गुरुङ र धन गुरुङ पनि यूकेबाट पनि सहभागी भएका थिए । पछिल्लो समय गोर्खाहरुका छोराछोरीले देश विदेशमा राम्रो प्रगति गर्दै आएको देखिन्छ । भूतपूर्व ब्रिटिस गोर्खा यामबहादुर गुरुङ र श्रीमती राजकुमारी गुरुङका दुई सन्तानमध्ये रीना सानैदेखि पढाईमा अब्बल थिइन् ।
पिता सेनाकै जागिरमा हुँदा ब्रुनाई टापुमा जन्मिएका रीनाले हाईस्कुल कास्की पोखराको सेन्ट मेरिज स्कुलबाट गरिकी हुन् । पिताको ब्रिगेड अफ गोर्खाज्बाट अवकाश भएपछि सपरिवार अमेरिका प्रवेश गरेका थिए । रीनाले New England school of law Boston JD (Juri’s doctor) गरेकी हुन् ।
पुरानो गाउँ धम्पुस हाल न्यूयोर्क क्विन्स फुस्लिङ निवासी पूर्व ब्रिटिस सैनिक यामबहादुर गुरुङ र राजकुमारी गुरुङकी छोरी नेपाली डायस्पोरामा पहिलो न्यायाधीश बनेकी छन् । छोरी न्यूयोर्क राज्य र सम्पूर्ण संयुक्त राज्य अमेरिकामा नियुक्त भएकोमा उनका परिवारजनले खुसी व्यक्त गरेका छन् ।
