गैंडाकोट, २३ असार । ज्येष्ठ नागरिक वडा संघ गैंडाकोट २ ले आफ्नो वडाभित्र रहेका ८० देखि १०४ वर्षसम्मका जेष्ठ नागरिकहरुको सम्मान गरेको छ । शनिवार स्थानिय गोपेश्वर मन्दिर परिसरमा एक कार्यक्रमको आयोजना गरि सम्मान सहित उनिहरुको स्वास्थ्य परिक्षण पनि गरिएको छ । गैंडाकोट नगरपालिकाको आर्थिक सहयोगमा उक्त कार्यक्रम गरिएको छ । कार्यक्रममा आफ्नो वडाभित्र रहेका कुल ७० जनाभन्दा बढी जेष्ठ नागरिकहरुलाई खादा र माला सहित सम्मान गरि उनिहरुको स्वास्थ्य परिक्षण गरिएको थियो । कार्यक्रममा बोल्दै वडा २ का वडाध्यक्ष प्रकाश सापकोटा पहिलेको जस्तो दुःख र पीडा अब जेष्ठ नागरिकहरुले भोग्न नपरोस भन्नेमा आफू सचेत भएको र वडाले जेष्ठ नागरिकहरुको सहजताकालागि ‘जेष्ठ नागरिक पार्क’ निर्माण गर्न पहल थालेको बताए ।

कार्यक्रममा जेष्ठ नागरिक संघका सल्लाहकार नारायणदेब पंगेनिले ज्येष्ठ नागरिकको सम्मानमा हामीले हेला र दुव्र्यवहार होइन, माया ममता र स्नेहको अंगालोमा बाध्न सक्नुपर्ने बताउनुभयो । सामाजिक व्याक्तित्व बेदप्रसाद गौडेलले गैंडाकोट नगरपालिकाको कार्यालय जेष्ठ नागरिकको हक र हितकोलागि उदासीन नभएको बताउँदै जेष्ठ नागरिकहरुकालागि नगर वा वडाले जेष्ठ सेवा केन्द्र भवन बनाउन सके अझ बढी प्रभावकारी रुपमा उनिहरुको सम्मान हुने प्रष्ट्याउनुभयो । कार्यक्रममा जनप्रतिनिधिहरु खगराज आचार्य, सीता श्रेष्ठ र सकिला परियार लगायतको उपस्थिति रहेको थियो । सुर्यकुमारी पौडेल स्वागत मन्तव्य रहेको कार्यक्रममा ज्येष्ठ नागरिक वडा संघका अध्यक्ष जितबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो ।

