१ कार्तिक, काठमाण्डौ । साफ च्याम्पियनसिपको उपविजेता वनेको नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीलाई सरकारले जनही ५ लाख रुपैयाँ पुरस्कार प्रदान गर्ने भएको छ। खेलाडीलाई प्रोत्साहनस्वरूप नगद पुरस्कार प्रदान गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको सरकार प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

यस्तै नेपाली टिमका प्रशिक्षकहरूलाई जनही ३ लाख रुपैयाँ प्रदान गर्ने प्रवक्ता कार्कीले बताए। नेपाली टिम माल्दिभ्समा भएको साफ च्याम्पियनसिप सन् २०२१ खेलेर सोमबार स्वदेश फर्किएको थियो। शनिबार भएको साफको फाइनलमा भारतसँग ३-० ले पराजित हुँदा नेपाल उपविजेता बनेको थियो ।
यसअघि साफको फाइनलमा पुग्न नसकेको नेपालले यसपटकको साफमा फाइनल पुगेर इतिहास बनाएको थियो। नेपालले यसअघि खेलेका १२ संस्करण मध्ये सन् १९९३ तेस्रो , सन् २०११, २०१३, २०१८ मा तीन पटक सेमिफाइनलबाट बाहिरिएको थियो भने त्यसबाहेक ८ संस्करणमा नेपाल चुनौती समूह चरणमै समाप्त भएको थियो।
