काठमाडौं, ८ पुस । कैलालीको जानकी गाउँपालिका ९ का अर्जुन दासलाई शहीद घोषणा र उनका छोराछोरीलाई राहत तथा उच्चशिक्षाको ग्यारेन्टीलगायतका माग गरेर स्थानीयले गाउँपालिका बन्द गराएका छन्।
२५ वर्षिया दासको हत्या भएको ६ दिन वित्दासमेत संलग्नलाई पक्राउ गर्न नसकेको भन्दै आक्रोशित स्थानीयले प्रदर्शन समेत गरेका थिए।
उनीहरुले हत्यामा संलग्नलाई आजीवन कारावास, परिवारको सुरक्षा, मृतकलाई शहीद घोषणा, मृतकका छोराछोरीलाई राहत र उच्चशिक्षाको ग्यारेन्टीलगायत ८ बुँदे माग राखेर गाउँपालिका बन्द तथा घेराउ गरेको पीडित पक्षको भनाइ छ।
मंगलबार र बुधबार टीकापुरमा विरोध प्रर्दशन गरेका उनीहरूले बिहीबार जानकी गाउँपालिका बन्द गर्नुका साथै गाउँपालिका कार्यालय घेराउ गरेका हुन्।
गत शुक्रबार साँझ घरबाट हिँडेका अर्जुन दास घाँटी काटिएको अवस्थामा शनिबार स्थानीय अमरावती सामुदायिक वनमा मृत फेला परेका थिए । दासको हत्याको जिम्मेवारी लिएको अडियो उनकी श्रीमतीको फेसबुक म्यासेन्जरमा समेत पठाइएको थियो।
सो कार्यमा संलग्न एक जना पक्राउ परेका छन् भने अरु तीन जना फरार रहेको प्रहरीले बताएको छ। घटनापछि उनीहरू भारत प्रवेश गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
