गैंडाकोट । सञ्चारकर्मी एवं लायन राजेन्द्र पौडेलले विद्यार्थीहरूसँग जन्मदिन मनाएका छन् । पौडेलले सोमबार परेको आफ्नो जन्मदिनका अवसरमा गैंडाकोट नगरपालिका-७ स्थित श्री नारायणी माविका विद्यार्थीसँग भेटघाट गरेर जन्मदिन मनाएका हुन् ।
भेटघाटका क्रममा पौडेलले विद्यार्थीहरूलाई पढाइको महत्त्व बताउँदै अतिरिक्त पुस्तक पढ्ने बानीको विकास गर्नसके विद्यार्थीमा आत्मविश्वास बढ्ने बताए । पौडेलले विद्यालयमा कक्षा १० सम्म अध्ययनरत २०० बढी विद्यार्थीलाई मुना बालपत्रिका, युवामञ्च र शिक्षक मासिक उपलब्ध गराएका थिए ।
कक्षा कोठामै पुगेर विद्यार्थीका हातमा बालपत्रिका राखिदिँदै पौडेलले भने -`यी पुस्तकले तपाईंको पढाइमा सहयोग गर्न सक्छन्, नियमितरूपमा पढ्ने बानी बसाल्नु होला । तपाईंहरूले पनि केही लेख्न सिक्नुहोला ।´
विद्यालयका प्रधानाध्यापक लालचन्द्र सुवेदीले पौडेललाई टीका र खादा लगाएर विद्यालयको तर्फबाट सम्मान गरेका थिए । `जन्मदिनका अवसरमा विद्यार्थीहरूलाई सम्झेर आफ्नो विद्यालयमा आइ ज्ञान बाँड्ने काम गर्नुभएकोमा विद्यालयको तर्फबाट आभार प्रकट गर्दछौँ´, प्रधानाध्यापक सुवेदीले भने । विद्यालयका शिक्षक गोविन्द रिमालले जन्मदिनका अवसरमा फजुल खर्च गर्नुको सट्टामा विद्यार्थीलाई पुस्तक, पत्रपत्रिका उपलब्ध गराइनु प्रसंशनीय भएको बताए । पठन संस्कृतिका अभियन्ता एवम् सम्पूर्ण किताब नारायणगढका सञ्चालक लेखराम सापकोटाले विद्यार्थीलाई अतिरिक्त किताब र पत्रपत्रिका पढाउने बानी बसाल्न सके सिकाइमा सहजीकरण हुने बताए । अतिरिक्त पुस्तक पढ्ने र समसामयिक गतिविधिमा चासो राख्ने विद्यार्थी अरुभन्दा अब्बल हुनेगरेको पनि सापकोटाले बताए ।
जन्मदिन विशेष कार्यक्रममा कवि भानु सापकोटाले कवितामार्फत शिक्षक तथा विद्यार्थीलाई सम्बोधन गर्दै पौडेलको नाममा समर्पित कविता वाचन गरेका थिए । कार्यक्रममा सामाजिक व्यक्तित्व तेजेन्द्र राना, शिक्षक जगन्नाथ उपाध्याय, मुक्ति तिवारी, अनिल कँडेल, काशीनाथ पोखरेललगायत सहभागी थिए ।
गैंडाकोट-७ निवासी सञ्चारकर्मी पौडेल नेपाल पत्रकार महासंघ नवलपुर, लायन्स क्लब अफ चितवन वाङ्मय, सहयात्री बचत तथा ऋण सहकारी संस्था लिमिटेड, शिवशक्ति बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, सिर्जन साहित्य प्रतिष्ठान, मिलिजुली बाल उद्यानलगायतका संस्थामा पनि आवद्ध छन् ।
