म्याग्दी ।। म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा उच्च घनत्वको स्याउखेतीको परीक्षण सफल भएको छ । गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयले इटलीबाट ल्याएको उच्च घनत्व जातका स्याउका बिरुवा दुुई वर्षअघि गुर्जामा रोपिएका थिए ।
गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले स्याउको बोटमा यस वर्षदेखि फल लागेको जानकारी दिए । “परीक्षणका लागि जोखिम मोलेर स्याउखेती गरिएको थियो”, उनले भने “सबै बोटमा फल लागेको छ ।” गुर्जाको स्याउखेती भएको ठाउँको उचाइ समुद्री सतहदेखि दुई हजार सात सय मिटर छ ।
“हावापानी, वातावरण र अनुकुल भूगोल भएकाले गत वर्षदेखि गुर्जामा उच्च घनत्वको स्याउखेती थालिएको थियो”, उनले भने, “छिटो फल्ने, धेरै उत्पादन दिने, फल टिप्न र खेती गर्न सजिलो हुने उच्च घनत्वको स्याउखेती विस्तारको सम्भावना बढेको छ ।”
यसअघि गुर्जामा स्थानीय जातको स्याउखेती गरिए पनि अपेक्षाकृत सफलता हासिल भएको थिएन । “पुराना र परम्परागत रैथाने स्याउका बोटले उत्पादन तथा गुणस्तरीय स्याउ फलाउन छाडेपछि त्यसको साटो छिटोे फल्ने उच्च घनत्वको स्याउ बिरुवा लगाउन थालिएको हो”, वडाध्यक्ष छन्त्यालले भने, “उच्च घनत्वको स्याउखेती विस्तार गरेर गुर्जामा खेर गइरहेको बाँझो जमिनको सदुपयोग गर्न र कृषकको आम्दानी बढाउन जोड दिन्छौँ ।”
