दाङ, भदौ १६ । घोराही ७ सौडियार स्थित माबी सौडियार बिद्यालयले बिद्यालयका लेखापाल स्व. केशब केसीको १२ औं पुण्यतिथीको अवसर पारेर उनकै निबासमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । केसीको सम्झनामा आयोजित शोक सभा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निशानदाजु भट्टराईको अध्यक्षता तथा पूर्व विव्यस अध्यक्ष भिमप्रकाश खड्काको प्रमुख आतिथ्यता एवं पूर्व विव्यस अध्यक्षहरु नन्दराम भण्डारी, कुमार पुनको बिशिस्ट आतिथ्यतामा सम्पन्न भएको हो ।
स्व. केसीको ब्यक्तित्वको बारेमा विद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र गौतमले चर्चा गरेका थिए । सो अवसरमा बोल्ने बक्ताहरुले केसीले समाजमा दिएको योगदान महत्वपूर्ण रहेको चर्चा गर्दै उनले देखाएको बाटोमा लागेमा मात्र सच्चा श्रद्धाञ्जली हुने बताएका थिए । उनीहरुले केसीको निधनले समाज, विद्यालयलाई अपूरणीय क्षती पुगेको भन्दै २०५७ सालदेखि विद्यालयमा पुर्याएको योगदान अबिस्मरणीय रहेको बताएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि पूर्व विव्यस अध्यक्ष खड्काले केसीको निधनबाट विद्यालयले कर्मठ, इमान्दार सामाजिक अगुवा गुमाएको भन्दै शोकलाई शक्तिमा बदलेर उनको योगदानलाई सम्झिरहने वातावरण सबैले बनाउनु पर्नेमा जोड दिए । कार्यक्रमका अध्यक्षता ग्रहण गरेका विब्यस अध्यक्ष निशानदाजु भट्टराईले केसीको निधनप्रति दुख ब्यक्त गर्दै उनीप्रति श्रद्धाञ्जली ब्यक्त गरे । उनले केसीको आत्माको चिरशान्तीको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समबेदना प्रकट गरे । साथै अध्यक्ष भट्टराईले उनको योगदानलाई चिरस्थायी बनाउन विद्यालय र केसी परिवार मिलेर अक्षयकोष स्थापना गरिने बताए ।
विव्यस सदस्य यमकला पुन, शिक्षक प्रतिनिधि मोतिलाल केसी लगायतकाले बोलेका थिए । त्यस अवसरमा केसीको परिवारको तर्फबाट बोल्दै भाइ, पूर्व विव्यस अध्यक्ष शरद केसीले आफुहरुको दुखमा साथ, सहयोग दिनु हुने र कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिदै आफ्नो दाजु योगदानलाई समाजमा सदैब स्थापित गर्ने गरि आफुहरु र विद्यालय परिवारले सर(सल्लाह गरेर अघि बढ्ने बताए । कार्यक्रमको सन्चालन विद्यालयका शिक्षक दामोदर पाण्डेले गरेका थिए ।
