काठमाडौं । उत्तरपूर्वी मालीमा इस्लामिक लडाकुहरूले यात्रुवाहक डुङ्गामा आक्रमण गरी कम्तीमा ४९ जना सर्वसाधारणको हत्या गरेको त्यहाँको सैन्य सरकारले जनाएको छ ।
लडाकुहरूले एउटा सैन्य शिविरमा समेत आक्रमण गरेको र दोहोरो भिडन्तमा १५ सैनिक र करिब ५० जना लडाकु मारिएको सेनाको दाबी छ ।
घटनाप्रति दुख व्यक्त गर्दै सरकारले ३ दिनका लागि राष्ट्रिय शोक घोषणा गरेको छ । आतङ्ककारी समूह अल-कायदासँग आबद्ध एक समूहले दुवै घटनाको जिम्मेवारी लिएको एएफपीले जनाएको छ ।
अल-कायदा आबद्ध उक्त समूहले ऐतिहासिक सहर ‘टिम्बक्टु’ वरिपरि एक महिनादेखि नाकाबन्दी गर्दै आएको र नजिकैको निजेर नदीमा उक्त घटना भएको जनाइएको छ ।
गाओ नगरबाट मोप्ती नगरतर्फ गइरहेका बेला लडाकुहरूले उक्त डुंगामाथि कम्तीमा तीनवटा रकेट आक्रमण गरेका थिए । त्यस्तै लडाकुको अर्को समूहले गाओ क्षेत्रमा रहेको एक सैन्य शिविरमा आक्रमण गरी १५ सैनिकको ज्यान लिएको थियो । उक्त घटनामा दोहोरो भिडन्त हुँदा ५० लडाकु मारिएको सेनाले जनाएको छ ।
रुसी नीजी सैन्य कम्पनी वाग्नर ग्रुपका सैनिकले इस्लामिक लडाकुको गतिविधिलाई निस्तेज पारेको दाबी गरे पनि उनीहरूको अभियान भने बढ्दै गइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले टिप्पणी गरेका छन् ।
मालीमा सन् २०२० देखि सैनिक सरकारले शासन गदै आएको छ भने सैन्य शासक र वाग्नर ग्रुपबीच साँठगाँठ रहेको बताइएको छ । सैन्य सरकारले त्यसलाई औपचारिक रूपमा स्वीकार भने गरेको छैन ।
