काठमाडौं, १३ पुस । कोरोना महामारीले थलापरेको शिक्षा क्षेत्र विस्तारै उठ्न थालेकाे छ। विद्यार्थीहरु लामो समयपछि विद्यालयको आगनी टेक्न पाएका छन्। अझै पनि ढुक्कसँग अभिभावकले आफ्ना छोराछोरीलाई विद्यालय पठाउन सकिरहेका छैनन्। आफ्नो रुप फेरेर हिडिरहेको कोरोनाको नयाँरुप (ओमिक्रोन)को नामबाट विश्व यात्रामा छ।
छिमेकी देश भारतमा देखिएका सबै भेरियन्टहरु नेपाल आए। नेपालमा पनि ती भेरियन्टले सबै क्षेत्रहरुलाई तहसनसह पारेर गए। विद्यालय क्षेत्र पनि सबै भेरियन्टहरुको सिकार भएको अवगत नै छ। तर, पनि जाजरकोटको सदरमुकाममा रहेको त्रिभुवन माध्यामिक विद्यालय भने मेला लगाउने भन्दै बन्द गरिएको छ।
विद्यार्थीहरुको भविष्यमाथि खेलबाड गरेर नै लगाइने मेलाले के दिन्छ ? यदि त्यो मेला त्यहाँ लगाइएन भने त्यहाँको समाज र विद्यार्थीको भविष्यमाथि के असर पर्छ ? मेला लगाएर ओमिक्रोनको विस्तार किन गर्न खोजिएको छ भन्ने प्रश्नहरु विद्यार्थीले गरिरहेका छन्।
पुस १२ देखि १६ गतेसम्म विद्यालयको पठनपाठन बन्द गरी मेला लगाएइने भएको छ। स्थानीय त्रिभुवन माविमा रमाइलो मेला तथा संस्कृतिक मेला भन्ने नारा दिएर विद्यालय हाताभित्र कार्यक्रम सञ्चालन गरिँदा विद्यालय बन्द भएको हो।
“विद्यालय बन्द गरेर मेला लगाउनु ठिक नभए पनि सर्वदलीय सहमति गराएर जिल्ला प्रशासन कार्यालयमा गई निर्णय गराएपछि मेरो मात्र के लाग्छ ?”, विद्यालयका प्रधानाध्यापक भक्तबहादुर मल्लले भने। मेला लगाएवापत विद्यालयलाई रु ५० हजार दिएको समेत उनले बताए।
विद्यार्थीको भविष्यमा नै ब्रेक लगाएर विद्यालयलाई दिइने ५० हजारले विद्यालयको स्तरोन्नति कति होला ? के यही ५० हजारले अरु शिक्षक राखेर पुनः विद्यार्थीहरुलाई घाटा लागेका दिनहरुको क्षेतिपूर्ति होला?
नगरपालिकाका निमित्त प्रमुख प्रशाकीय अधिकृत दलबहादुर घर्ती पनि यो कार्यप्रति सन्तुष्ट छैनन्। उनले भने, ‘कोभिडका कारण पढाई लामो समयसम्म बन्द भएर भर्खरै मात्र पढाइ सञ्चालन भएको विद्यालयमा मेला लगाएर पढाइ अवरुद्ध गर्नु उचित कार्य होइन । कोभिडको नयाँ–नयाँ भेरियन्ट आइरहेको बेला विद्यालयभित्र हजारौँ मानिस सहभागी गराएर के दूरदर्शी निर्णय गरेको होला ? आहा सरोकारवाला च्याम्पियन सबैमा हार्दिक बधाई।’
तत्कालीलन राजा वीरेन्द्रको जन्मोत्सवमा लगाउँदै आएको यो मेला कोभिडका कारण बन्द भए पनि भेरी नगरपालिकाले दुई वर्षअघि नै विद्यालयमा मेला लगाउन नपाउने निर्णय गरेको थियो।
