काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशका कतिपय स्थानमा भइरहेका क्रियाकलापका सन्दर्भमा सबैलाई जिम्मेवार बन्न, धैर्य धारण गर्न र संयमता अपनाउन अनुरोध गरेकी छन् । सामाजिक एकता र सद्भाव कायम गर्ने सम्बन्धमा आज (शुक्रबार) दिएको सार्वजनिक सन्देशमा पूर्वराष्ट्रपति भण्डारीले नेपाली समाजमा सदियौंदेखि कायम सद्भाव र सहिष्णुतामा गम्भीर प्रश्न उत्पन्न हुने गरी भएका घटनाप्रति ध्यानाकर्षण भएको जनाएकी हुन् ।
उनले नेपाली जनतालाई नै एक-अर्काविरुद्ध उभ्याउने गतिविधिमाथि मलजल गर्न मिथ्या सूचना र झुटा समाचारको समेत उपयोग भइरहेकोतर्फ सबैको ध्यानाकर्षणसमेत गराएकी छन् । पूर्वराष्ट्रपति भण्डारीले सामाजिक एकता, जागरण र पहरेदारीका लागि अपिल गरेकी छन् ।
