४ कात्तिक, काठमाण्डौ । मेरिल्याण्ड राज्यको डेमोक्रयाट पार्टीको केन्द्रीय सदस्यमा नेपालीमुलुकका नागरीक अर्जुन हमाल निर्वाचित भएका छन् । डेमोक्रयाट पार्टीको डिष्ट्रिक ८ को केन्द्रीय सदस्यमा प्रत्यक्ष मतदान मार्फत हमाललाई निर्बाचित गरेका एमिली कुकले जानकारी दिए । केन्द्रीय सदस्यको पदमा निर्वाचित गर्न पार्टीका विभिन्न तहका नेताहरुले हमालको अन्र्तवार्ता समेत लिएका थिए ।
अमेरिकामा राजनीति दलहरुले कोही पदाधिकारीले आकस्मिक रुपमा पदवाट राजीनामा दिएको खण्डमा वा कुनै कारणले पद रिक्त रहेको खण्ड मा निर्वाचित केन्द्रीय सदस्यहरुले रिक्त पदमा पदपूर्ति गर्न निवेदन आव्हान गर्ने गर्छन् । सोही प्रक्रिया र मापदण्डका आधारमा हमाललाई केन्द्रीय सदस्यमा निर्वाचित गरिएको हो । मेरिल्याण्ड राज्यमा एएपिआईको केन्द्रीय सदस्यको रुपमा समेत काम गरिसकेका हमालले मंगलवार डेमोक्रयाट पार्टीको केन्द्रीय सदस्यको रुपमा शपथ ग्रहण गरेका छन् ।
मेरिल्याण्ड राज्यमा विगत १६ वर्ष देखि वस्दै आएका हमाल विभिन्न सामाजिक क्रियाकलापमा संलग्न रहेका छन। अमेरिकामा पार्टीको निर्वाचित केन्द्रीय सदस्यहरुलाई जनप्रतिनिधीको रुपमा राज्य सरकारको तर्फवाट शपथ ग्रहण गराउने गरिन्छ ।
