काठमाडौं, २५ असोज । संघीय संसदको चालु अधिवेशन भोलि (शुक्रबार) देखि अन्त्य हुने भएको छ । संसद सचिवालय स्रोतका अनुसार सरकारले भोलि मध्यराति १२ बजेदेखि चालु अधिवेशन अन्त्य गर्न पत्र पठाएको छ ।
प्रतिनिधि सभाको बैठक भोलि दिउँसो २ बजेका लागि बोलाइएको छ । संसदको यो अधिवशेन गत वैशाख २४ गते सुरू भएको थियो । अधिवेशन अन्त्य गर्ने सरकारको पत्र पाएपछि सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतकहरूसँग परामर्श गरेका थिए ।
त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलका नेताहरूसँग अधिवेशन अन्त्यबारे छलफल गरेका थिए । २८ गतेदेखि दसैं पनि सुरू हुने भएकाले भोलि नै अधिवेशन अन्त्य गर्नु उपयुक्त हुने रायपछि सरकारले संसदलाई पत्र पठाएको हो ।
