दाङ, १५ कात्तिक/ दाङका तीन पालिकाले तिहारको समयमा प्लाष्टिक जन्य फूलका माला प्रयोग नगर्न अपिल गरेका छन् ।मंगलबार राप्ती गाउँपालिकाले प्लाष्टिक जन्य माला प्रयोग नगर्न अपिल जारी गरेको हो । यसअघि तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकाले पनि सार्वजनिक बक्तब्य मार्फत यस्तो अपिल जारी गरि सकेका थिए ।
राप्ती गाउँपालिकाले जारी गरेको अपिलमा आफ्नो क्षेत्र भित्र फूल खेती गरेका किसानको नाम, ठेगाना र सम्पर्क फोन नम्बरपनि सार्वजनि गरेको छ । जिल्लाका दश पालकिा मध्य तुलसीपुरले असोज २३ गते त्यस्तो निर्णय सार्वजनिक गरेको थियो । तुलसीपुर पछि आइतरबार मात्रै लमही नगरपालिकाले पनि प्लाष्टिक जन्य मालाहरु प्रयोग नगर्न र प्राकृतिक रुपमा फूलेका फूलका मालाहरु मात्रै भाइ टीकाको अवशरमा प्रयोग गर्न सार्वजनिक रुपमा अपिल जारी गरेको थियो ।
यी पालिका भन्दा धेरै पहिले लुम्बिनी प्रदेशको राजधानीको केन्द्र भाग राप्ती गाउँपालिकाले गत असार १९ गते नै आफ्नो क्षेत्र भित्र खादा माला, प्लाष्टिक जन्य माला, रबर, कोल्ड ड्रिङ्स, जनक फूड नगर्न र त्यस्ता बस्तुको सट्टामा स्थानीय उत्पादनको पर्बद्धन गर्ने खाले बस्तु प्रयोग गर्न आग्रह गरेको थियो । खादा मालाको सट्टा प्राकृतिक फूल वा माला, कोल्ड ड्रिङ्सको सट्टा दूध, दही, मोई, प्लाष्टिकका प्लेट, थाल, चम्चा प्रयोग गर्नुको सट्टा साल, मालु आदिबाट निर्मित टपरी वा दुना प्रयोग गर्न आग्रह गरेको थियो ।
त्यो कुरा फेरि स्मरण गराउँदै राप्ती गाउँपालिकाले मंगलबार फेरि तिहारको समयमा प्राकृतिक रुपमा उपलब्ध हुने फूलका माला प्रयोग गर्न अपिल गरेको हो ।
गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले आफ्नो पालिकामा फूल खेती गर्दै आएका ६ जना किसानको नाम, सम्पर्क नम्बर र ठेगानापनि सार्वजनिक गरी स्थानीय किसानको पक्षमा उभिएका छन् । तुलसीपुरले पनि प्लाष्टिक जन्य नक्कली फूलका मालाहरु बिक्री बितरण तथा भण्डारण गर्नेहरु बिरुद्ध कारबाहीसमेत गर्दै आएको छ । बजार अनुगमण गरि निर्णय बिरुद्ध प्लाष्टिक जन्य माला ल्याएकाहरुको सामान जफत गर्दै आएको छ । जस्ले गर्दा यो बर्ष अघिल्ला बर्षहरु जस्तो प्लाष्टिकका मालाहरु देखिएका छैनन् । यसले गर्दा फूल खेती गर्दै आएका किसान हौसिएका छन् ।
दाङमा यो बर्ष २४ बिगाहा बढी क्षेत्रफलमा फूल खेती भएको छ । सबै भन्दा बढी क्षेत्रफलमा तुलसीपुर उपमहानगरपालिका – १७ मा १६ बिगाहा क्षेत्र फलमा फूल खेती गरेका ६० बर्षीय हेमराज शर्माले आँफु जस्ता किसान स्थानीय पालिकाको साथ समर्थनबाट खुसी भएको प्रतिक्रिया दिए । शर्मा कृषि प्राबिधिक हुन । शर्मासहित पाँच जना मिलेर फूलखेती गरेका छन् । जिल्लामा अरु भन्दा लामो समय करिब नौं बर्षदेखि फूल खेती गर्दै आएका घोराही उपमहानगरपालिका – १४ मा लोकेन्द्र रोका मगर हुन ।
उनीपनि जिल्लाका सबै पालिकाले प्लाष्टिक जन्य फूल मालाको प्रयोगमाथि प्रतिबन्ध लगाउने निर्णय गर्न सके राम्रो हुने बताउँछन। । यो बर्ष उनले करिब तीन बिगाहा क्षेत्रफलमा फूल खेती गरेका छन् । किसान फूल खेतीमा आकर्षित हुन थालेपछि पछिल्लो समय दाङ फूलमा आत्मनिर्भर बनेको जानकारहरु बताउँछन् । जिल्लाका बढी मात्रामा तुलसीपुर, घोराही क्षेत्रमा बिभिन्न ब्यक्तिहरु तथा बिद्यालयमा अध्यनरत बिद्यार्थीले समेत सयपत्री फूलको ब्यबसायी खेतीहरु गर्दै आएका छन् ।
कृषि ज्ञान केन्द्र दाङकी कृति अधिकृत देबा महराका अनुसार हाल जिल्लामा कार्यालयको रेकर्डमा रहेको मध्य २४ बिगाहा क्षेत्रफलमा ब्यबसायिक रुपमा फूलखेती गरिएको छ । रेकर्ड बिनाका बिभिन्न संघ संस्था र ब्यक्तिहरुले समेत जिल्लाका बिभिन्न स्थानमा तिहारलाई लक्षित गरि फूलखेती गरेको उनले बताइन ।
