दाङ, ३० कात्तिक । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ग्रामीण क्षेत्रको विकासका लागि आफूले सकेजति पहल गर्ने बताएकी छिन् । दाङको बंगलाचुली गाउँपालिका वडा नं. ३ को बचनीमा स्थानीय मतदाताहरुसंग भेटघाटका क्रममा उहाँले विकट क्षेत्रका जनतालाई विकासको प्रत्याभूति दिलाउने गरी काम गरिरहेको बताइन् ।
निर्वाचनका क्रममा जनतासँग गरेको प्रतिबद्धता अनुसार सडक, खानेपानी, सञ्चारलगायतका विकास निर्माणका कामहरू गरिरहेको भन्दै आगामी दिनमा थप काम हुने बताइन् । मन्त्री शर्माले दाङ जिल्ला भएर पनि भौगोलिकरुपले विकट रहेको बंगलाचुली गाउँपालिका मा धेरै समस्याहरू रहेको बताउँदै ती समस्याहरू समाधानका लागि आफूले सकेजति पहल गरिरहेको र कामहरू पनि भइरहेको बताइन्।
मन्त्री शर्माले भनिन्, 'बंगलाचुली मेरो निर्वाचन क्षेत्र पनि हो यो क्षेत्रका जनता सँग निर्वाचनका क्रममा गरेको प्रतिबद्धता अनुसार सडक, खानेपानी, सञ्चार, शिक्षा, स्वास्थ्यलगायतका विकासका पूर्वाधारहरूमा मैले ध्यान दिइरहेको छु। मैले निर्वाचन जितेपछि बंगलाचुली सहित आफ्नो निर्वाचन क्षेत्रका समस्या समाधानका लागि पहल गरिरहेको त्यस कारण यहाँ विकास निर्माणका कामहरू हुने छन् ।'
भेटघाटका क्रममा मन्त्री शर्माले प्युठान र घोराहीलाई जोड्ने मुख्य सडकका रूपमा रहेको घोराही–मुर्कुटी–प्युठान सडकको सवालमा निर्माण व्यवसायी र सडक विभाग अन्तर्गतको आरविटेसनमा मुद्दा परेकाले सडकको अन्य काम अघि बढ्न नसकेको बताइन् । भेटघाट कार्यक्रममा बंगलाचुली गाउँपालिका प्रवक्ता एवम् वडा नम्बर ३ का अध्यक्ष शोभाराज विश्वकर्माले बचनीको खानेपानी समस्या, घोराही–मुर्कुटी–प्युठान सडक खण्डको अवस्था सुधारलगायतका समस्याका बारेमा जानकारी गराएका थिए ।
