काठमाडौं ५ मंसिर/ मंसिर महिनामा अधिकांश वाणिज्य बैंकहरुले कात्तिकको तुलनामा निक्षेपको ब्याजदर घटाए । निक्षेपको ब्याजदर घट्दा तिहारपछि खुल्ने सेयर बजारले बढोत्तरीको लय समात्ने धेरैको अनुमान थियो । सामान्यतः ब्याजदर घट्दा सेयर बजार बढ्ने सिद्धान्त छ । तर, तिहारलगत्तै खुलेको बजार सोमबार जम्मा १ अंक मात्रै बढेकोमा मंगलबार भने सेयर बजार उच्च अंकले घटेको छ ।
मंगलबार एकै दिन सेयर बजार २३.८२ अंकले घटेर १८२९ विन्दुमा कायम भएको छ । बजार घट्दा कारोबार रकम पनि खुम्चिएको छ । सोमबार १ अर्ब ९ करोडको कारोबार भएकोमा मंगलबार ९५ करोड ४ लाखमा सीमित भयो । कुल ३१ कम्पनीको मूल्य बढ्दा २०१ को घट्यो भने ५ को स्थिर रह्यो । माइक्रोफाइनान्स र उत्पादन उपसमूह सबैभन्दा धेरै घटेका छन् । माइक्रोफाइनान्स २.८९ र उत्पादन उपसमूह ३.१२ प्रतिशत घटे । होटल तथा पर्यटन उपसमूह २.६ प्रतिशत घट्यो ।
अंकका आधारमा वाणिज्य बैंक समूह ६, विकास बैंक ३१, फाइनान्स २५, होटल तथा पर्यटन १२९, जलविद्युत् २७, जीवन बीमा ११९, उत्पादन १५२, माइक्रोफाइनान्स ९७, निर्जीवन बीमा १३४, अन्य २४ र व्यापाार उपसमूह २९ अंक घटे ।
मेन्छियाम हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ८.१ प्रतिशत बढ्यो । त्यस्तै बीपीडब्लू लघुवित्तको मूल्य ७.५, सयपत्री हाइड्रोपावरको ५.१, सिंगटी हाइड्रोको ३.६ प्रतिशत बढ्यो । माथिल्लो मैलुङखोला जलविद्युत्को मूल्य सबैभन्दा धेरै १० प्रतिशत घट्यो । महिला लघुवित्तको ८.४, उपकार लघुवित्तको ७.४, नेस्डो लघुवित्तको ७.२ प्रतिशतले मूल्य घट्यो ।
कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी, सोनापुर सिमेन्ट, शिवम् सिमेन्ट, सोल्टी होटल र हाथवे इन्भेस्टमेन्ट कम्पनी क्रमशः अगाडि रहे ।
