गत आईतबार देखिको बर्षाले लुम्बिनी प्रदेशमा साढे चार अर्ब रुपैयाँ बराबरको धान नोक्सानी पुर्याएको छ । प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले बिज्ञप्ती जारी गर्दै बर्षाका कारण प्रदेशमा ४ अर्ब ५१ करोड ४२ लाख रुपैयाँ बराबरको धान नष्ट भएको जनाएका छन् । उनका अनुसार ३६ हजार ४ सय ८० हेक्टरमा काटेर खेतमै राखिएको धान र ९३ हजार ५ सय ७६ हेक्टर क्षेत्रफलमा नकाटिएको धान गरि १ लाख ६१ हजार २ सय २३ मेट्रिक धान नष्ट भएको छ । यस्तै मुख्यमन्त्री केसीले पीडित किसानहरुलाई राहत प्याकेज घोषणा गरेका छन् । ‘प्रदेश सरकारको तर्फबाट राहत प्याकेजको घोषणा सहित किसानहरुलाई परेको समस्या प्रति प्रदेश सरकार हातेमालो गर्ने प्रतिवद्धता ब्यक्त गर्दछु,’ मुख्यमन्त्री केसीले बिज्ञप्तीमा भनेका छन् ।
लुम्बिनीमा एकको मृत्यु, १२ सय घरपरिवार प्रभावित
यस्तै लगातार तीन दिनको झरीक कारण लुम्बिनीमा १ को मृत्यु भएको छ भने १ हजार २ सय ३७ घर परिवार प्रभावित भएका छन् । प्रदेश मुख्यमन्त्री केसीले जारी गरेको बिज्ञप्ती अनुसार प्यूठानको माण्डवी गाउँपालिका वडा नम्बर ४ निवासी देबिसरा कार्किको खोलाले बगाउँदा मृत्यु भएको छ । यसैगरि बर्दियाको राजपुर नगरपालिकाका १ हजार २७ र गेरुवा गाउँपालिकाका २ सय १० घर परिवार गर कुल १ हजार २ सय ३७ घरपरिवार प्रभावित भएको मुख्यमन्त्री केसीको बिज्ञप्तीमा उल्लेख छ । प्रभावित तथा बिस्थापितहरुलाई सुरक्षित स्थानमा राखिएको पनि जनाईएको छ ।
