दाङ २७ मंसिर/ दाङको शान्तिनगर गाउँपालिका वडा नं. ४ जुम्लेकुला निवासी रमिता परियारले आफ्नो बुवाको मृत्युपछि कृया बसेकी छिन् । दाई बैदेशिक रोजगारीको शिलशिलामा साउदीमा भएको र घरमा बुवाको मृत्यु भएपछि परियार बुवाको काजकृया आफैले गर्न थालेकी छिन् ।
उनका बुवा बिजयराम दमाइको ब्रेन ट्युमरका कारण उपचारको क्रममा मंसिर १८ गते मृत्यु भएको थियो । बिजयरामका ६ वटी छोरी र एक छोरा छन् । छोरा साउदीबाट तत्काल आउँन नपाउने भएपछि बिजयरामकी कान्छी छोरी रमिताले बुवाको काजकृया आफैले गर्ने निर्णय गरेकी हुन् ।
सुरुमा गाउँ समाजले छोरी मान्छे कृया बस्न हुँदैन भनेपनि रमिताले बुवाको काजकृया आफुले नै गर्न पाउँनु पर्ने अडान लिएकी थिइन् । रमिताको अडान पछि गाउँलेले उनलाई बुवाको कृयाकाज गर्न अनुमति दिएका थिए । गाउँलेको अनुमति पछि उनी कपाल फालेर छोरा सरहनै अहिले बुवाको काजकृया गर्दै छिन ।
