चितवन, २९ मंसिर । नेपालकै तेस्रो पर्यटकीय गन्तव्य सौराहामा चितवन हात्ती तथा पर्यटन महोत्सव हुने भएको छ । चितवन हात्ती महोत्सवलाई रूपान्तरण गर्दै यहाँका व्यवसायीहरूले पुष १० देखि पुस १४ गतेदेखि पर्यटन महोत्सव गर्न लागेका हुन् ।
आज सङ्घले पत्रकार सम्मेलनको आयोजना गरी चार बर्ष देखि रोकिएको चितवन हात्ती महोत्सवलाई केही परिमार्जन गरी १७ औँ संस्करण सुरु गर्न लागेको जानकारी दिएको हो ।
कोरोनाका कारण २०७६ सालदेखि चितवन हात्ती महोत्सव हुन सकेको थिएन् । २०८० साल सुरु भएपछि सौराहामा विदेशी पर्यटकको आगमन बढ्दै गएको र पर्यटकलाई थप आकर्षित गर्ने उद्देश्यसहित महोत्सव गर्न लागिएको संघका अध्यक्ष गंगा गिरीले जानकारी दिए ।
विगतको हात्ती महोत्सवलाई परिमार्जन गर्ने भन्दै यसपटकको महोत्सवमा हात्ती दौड, हात्ती फुटबल र हात्ती पोलो हटाइएको छ । पशु अधिकारकर्मीहरूले हात्तीलाई सास्ती दिएको भन्दै प्रश्न उठाउन थालेपछि व्यवसायीहरूले उक्त तीन प्रतियोगिता हटाइएको हो । पाँच दिनसम्म सञ्चालन हुने उक्त महोत्सव अन्तर्गत हात्ती श्रृङ्गार प्रतियोगिता, हात्ती वनभोज र डुंगा दौड प्रतियोगितालाई यथावत् राखिएको छ । महोत्सवमा मैत्रीपूर्ण खेलकुद प्रतियोगितासँगै चितवनको पर्यटनको सम्भावना र चुनौती सम्बन्धी अन्तर्क्रिया कार्यक्रम राखिएको छ ।
शिथिल भएको चितवनको पर्यटनलाई माथि उकास्न स्थानीय सरकार, व्यवसायी र पर्यटन बोर्डले खेल्नु पर्ने भूमिकाको बारेमा छलफल गरी दायित्व बोध गराउन अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको संघका उपाध्यक्ष तथा महोत्सव मुल समारोह समितिका संयोजक ओमप्रकार पाण्डेले जानकारी दिए । महोत्सवमा हात्तीको दिनचर्या बारे जानकारी, स्वदेशी तथा विदेशी ट्राभल एजेन्सीहरुसंग बि–टु–बी कार्यक्रम, स्थानीय भेषभूषा तथा कला संस्कृतिको संरक्षण, कलाकारहरूको सांस्कृतिक कार्यक्रम, स्थानीय कृषि उत्पादनको प्रबन्धनात्मक कार्यक्रम गरिने कार्यक्रम संयोजक पाण्डेले बताए ।
युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था र रेवान सौराहा सह आयोजक रहेको सो महोत्सवमा नेपाल पर्यटन बोर्ड र सांस्कृतिक, पर्यटन तथा सहकारी मन्त्रालय प्रवर्द्धक तथा रत्ननगर नगरपालिका संरक्षक रहेका छन् ।
चालु आर्थिक वर्षमा मात्र सौराहामा स्वदेशी तथा विदेशी गरी २ लाख २५ हजार पर्यटक आएका छन् । ती मध्ये एक लाख ३० हजार जना पर्यटकले निकुञ्ज अवलोकन गरेको तथ्याङ्कले देखाएको छ ।
