• ट्रेण्डिङ्ग :
एमाले र रास्वपाको टिप्पणी
प्रधानमन्त्रीको सम्बोधन समयको बर्बादी

प्रधानमन्त्रीको सम्बोधन समयको बर्बादी


  • 2.8K
    SHARES
    • पौष १०, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 4.4K Views

    प्रधानमन्त्रीको सम्बोधन समयको बर्बादी

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार अपराह्न करिब पौने घण्टा राष्ट्रका नाममा सम्बोधन गरे । उनले गरेको एकवर्षे समीक्षालाई विपक्षी दलका नेताहरुले भने समयको बर्बादी भनेका छन् ।

    images

    प्रधानमन्त्रीले गरेको सम्बोधनमा अत्मप्रशंसा मात्रै पाइएको एमाले नेताको प्रतिक्रिया छ । त्यस्तै, रास्वपा नेताको प्रतिक्रिया छ– प्रधानमन्त्रीले नीति कार्यक्रम ल्याएजसरी भाषण गरे ।

    दाहाल सरकारको एक वर्ष देशको कालो दिनका रूपमा रहेको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले खबरहबलाई बताए । यस अवधिमा सरकारले नागरिकमा आशा जगाउने कुनै काम नगरेको उनले बताए ।

    ताजा जनादेश बोकेर आएको सरकारको कामबाट जनतामा निराशा आउनु दुःखद भएको बर्तौला बताउँछन् । उनी भन्छन्, ‘निराशाको वर्षले हाम्रो देश १० वर्ष पछाडि धकेलिएको छ, कुनै पनि कोणबाट सकारात्मक देख्न सकिँदैन ।’

    प्रधानमन्त्रीले जे कुरा भन्न खोजेको हो, त्यसलाई प्रमाणित गर्ने तथ्य र तथ्याङ्क नभएको बर्तौला बताउँछन् । विदेशी, लगानी कति भित्रियो, देश छाडेर जाने युवाको संख्या घट्यो कि बढ्यो, यसको तथ्याङ्क नै प्रधानमन्त्रीसँग नभएको उनी बताउँछन् ।

    बर्तौला भन्छन्, ‘विदेशिने र आउनेको संख्या कति हो ? सडकमा किसानको समस्या कस्तो छ ? खुला सिमानाको समस्या कहाँ छ ? यो सबै प्रष्ट छ । प्रधानमन्त्रीले अनावश्यक आत्मरति गरेर समय बर्बाद पार्नुको सट्टा मैले केही काम गर्न सकिनँ, असक्षम भएँ भन्नुपर्ने थियो ।’

    बर्तौलाले थपे, ‘देशको अर्थतन्त्र धराशायी छ । चालु खर्च थेग्नका लागि पनि समस्या छ । यो मेरा कारणले भएको हो भनेर प्रधानमन्त्रीले मार्गप्रशस्त गर्नुपर्छ ।’

    त्यस्तै, रास्वपा उपसभापति डोलप्रसाद अर्यालले पनि सरकारको एकवर्षको काम र प्रधानमन्त्रीको सम्बोधनप्रति असन्तुष्टि जनाए । प्रधानमन्त्रीले तेस्रो पटक नीति तथा कार्यक्रम ल्याए जसरी भाषण गरेको उनले बताए ।

    सरकारको सबै काम तथ्यांकमा आउनुपर्ने रास्वपा नेता अर्याल बताउँछन् । अर्यालले खबरहबसँग भने, ‘अलि धेरै यो गर्नेछौँ, त्यो गर्नेछौँ भनेको देखियो । जनताले बुझ्ने गरी तथ्यांकमा एक वर्षभित्र हामीले यो–यो काम गर्‍यौं भन्नेखालको सम्बोधन हुनुपर्ने थियो ।’


    तेस्रो आँखा