काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खेल पर्यटन विकास गर्न सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका छन्। मूलपानी, विराटनगर र कैलालीको फाप्ला क्रिकेट मैदानलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण गर्न लागिएको उनले बताए।
सरकारले एक वर्ष पूरा गरेको अवसरमा आज देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘सुविधासम्पन्न खेल मैदानबिनै नेपाली क्रिकेट खेलाडीले विश्वकपको यात्रा तय गरे। विश्वकपको तयारीका लागि कुनै कसर बाँकी राखिने छैन।
उनले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानलाई सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा विस्तार गरिने बताए।
उनले चितवनको गौतम बुद्ध क्रिकेट रंगशालालाई पनि राष्ट्रिय गौरवकै आयोजनाको रूपमा तीन तहकै सरकारको समन्वयमा निर्माण गर्न थालिएको बताए।
गत कात्तिकमा नेपालमै आयोजित खेलमा नेपालले संयुक्त अरब इमिरेटस् (यूएई)लाई ८ विकेटले पराजित गर्दै विश्वकपको यात्रा तय गरेको थियो।
नेपाली खेलाडीले प्राप्त गरेको सफलतासँगै अब देशमा खेल पर्यटनको ठूलो आधार तयार भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले त्यसका लागि पूर्वाधार निर्माणमा जोड दिएको दावी गरेका छन्।
‘सरकारले देशको गौरव बढाउने युवा क्रिकेट खेलाडी, प्रशिक्षक र व्यवस्थापन टोलीलाई सम्मानसहित पुरस्कृत गर्दै आएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘दक्षिण एशियाली र एशियाली खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्ने २५२ खेलाडीलाई मासिक भत्ता पनि सरकारले उपलब्ध गराएको छ। यससँगै सरकारको ध्यान अब पूर्वाधार निर्माणमै केन्द्रित छ।’
ग्रासरुटबाटै खेलाडी, खेलकुद र खेल पूर्वाधारको विकास गरी खेल पर्यटनको ठूलो सम्भावनालाई साकार पार्न सरकारले कुनै कसर बाँकी नराख्ने प्रधानमन्त्री प्रचण्डको भनाइ छ।
