काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सबैको अस्तित्वप्रति सम्मान छ भन्दा राजीनामा मागिएको भन्दै आक्रोश व्यक्त गरेका छन्।
मंगलवार काठमाडौँमा यश कुमारको म्युजिक भिडियो ‘तिमी छौ र त’ सार्वजनिक कार्यक्रममा उनले आफ्नो राजीनामा मागेकोप्रति आक्रोश व्यक्त गर्दै संविधानको व्याख्या गर्दा राजीनामा दिनुपर्ने हो भन्दै प्रश्न गरे।
उनले राजतन्त्रप्रति इंगित गर्दै अहिले जानेर वा नजानेर मानिसहरुले पुरानो व्यवस्थालाई नै ल्याउन खोजेको आरोप लगाए। उनले नेपाली समाज र मान्ने वा नमान्ने अर्को पाटो रहेको बताए।
मन्त्री किराँतीले आफ्नो निधारमा मन्त्रीको छाप नरहेको र राजीनामा दिन आफू सधैँ तयार रहेको पनि बताए। उनले आफ्ना लागि धर्म नेपाली, मन्दिर देश र भगवान जनता भएको जिकिर गरे।
उनले भने, ‘हुन त अहिले केही मान्छेले जानेर वा नजानेर त्यही व्यवस्था ल्याउन खोज्दै छन्। अब नेपाली समाजले मान्छ कि मान्दैन? पचाउँछ कि पचाउँदैन? सुदन किराँतीले संविधानको व्याख्या गर्छ, यो देश जिम्मा लिन्छु भन्ने नयाँ युगको नेतृत्व गर्छु भन्ने मान्छेले हालेको डाकमै आँखामा कचेरा नबिझ्ने स्टाटस लेख्छ- राजीनामा‚’ उनले भने‚ ‘हुँदैछ के? के संविधानको व्याख्या गर्नु नहुने? सबै अस्तित्वप्रति सम्मान छ भन्नु नहुने? राजीनामा दिनुपर्ने? के मेरो निधारमा मन्त्रीको छाप छ? म त अहिले दिन तयार छु। म धर्म मान्छु, मेरो धर्म नेपाली हो, मेरो मन्दिर देश हो, मेरो भगवान जनता हुन्।’
मन्त्री किराँतीले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङप्रति लक्षित गर्दै नयाँ खोज्ने नाममा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाइएको आरोप लगाए।
उनले भावनामा आएर मात्रै देश नचल्ने बताए। मेयर साम्पाङप्रति लक्षित गर्दै उनले मेयरको कार्यालयमा राजाको फोटो झुण्ड्याइएको भन्दै यसरी समाज कता जान्छ भन्दै प्रश्न गरे।
‘आज नयाँ खोज्ने नाममा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाइयो, ठिकै छ त। भावनामा आएर मात्रै हुँदैन। कसैको मेयरको अफिसमा राजाको फोटो छ रे! फर्किने उल्टो हो त! गोरु पछिपछि गाडा अघिअघि‚’ उनले भने‚ ‘यो गतिविधिले जान्छ कता समाज? केही काम गरौँ भनेर लागेको छु, कसैले हात कसैले खुट्टा समात्छ। कसैले पासो लाउँछ, के अपराध गरेँ? पशुपति हाम्रो सभ्यताको पनि सभ्यता हो। त्यहाँ गएर गु, मुत सोहोरेँ। मलाई पशुपतिविरोधी नै बनाउन खोजे, पशुपति त भगवान नै रहेछ। पशुपतिकै नाम जपेर मेरो राजीनामा माग्नेहरु अन्ततः हारे।’
