काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद एवं पूर्वस्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई पदबाट हटाउन माग गरेकी छन्।
हुँदै नभएको आधारभूत अस्पतालको सामान खरिद प्रकरणमा करोडौंको कमिशनको चलखेल गरेकाले मन्त्री बस्नेतलाई तत्काल हटाउनुपर्ने उनको जिकिर थियो।
मंगलवार संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको बैठकमा उनले अस्पतालमा आवश्यक दरबन्दी थप्न नचाहने तर हुँदै नभएका अस्पतालमा पनि उपकरण खरिदको नाममा सेटिङमा कमिशन खान खोज्ने मन्त्री बस्नेतलाई पदबाट हटाउन प्रधानमन्त्रीलाई सुझाव दिन संसदीय समितिमा माग गरिन्।
सांसद कार्कीले २०७४ सालमा स्वास्थ्यमन्त्री हुँदा टेरामक्स प्रविधि भित्र्याउने नाममा ३ अर्बसम्म भ्रष्टाचार गरेको अभियोगमा मुछिएका मन्त्री बस्नेतलाई किन सोही मन्त्री बनाएको भनी पटकपटक प्रश्न गरिन्।
उनले कानुनविपरीत कर्मचारीहरू हटाएर मन्त्री बस्नेतले वीर अस्पतालगायतका अस्पतालका विरामीहरूको उपचारमा समेत समस्या ल्याउने काम गरेको आरोप लगाइन्।
सांसद कार्कीले भनिन्, ‘स्वास्थ्यमन्त्री मोहन बस्नेत २०७४ मा स्वास्थ्यमन्त्री हुँदा टेरामक्स प्रविधि ल्याउँदा खरिद बिक्री प्रक्रियामा ३ अर्बसम्म भ्रष्टाचार भएको भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निष्कर्ष निकालेर मुद्दा चलाउने भएको छ। २०७४ सालमा भएको यो घटना, यसरी मुद्दा चलिरहेको र भ्रष्टाचारको अभियोगमा परेका व्यक्तिलाई किन स्वास्थ्यमन्त्रीको जिम्मेवारी दिइयो?’
सांसद कार्कीले वीर अस्पतालका विरामीलाई निःशुल्क दिइँदै आएको खाना र खाजासमेत कटौती गरेकाले मन्त्री बस्नेतले त्यो पदमा बसिरहन नमिल्ने बताइन्।
