• ट्रेण्डिङ्ग :
शिक्षक सरुवा / पदस्थापनमा मनपरि
दरबन्दी रिक्त नहुँदै शिक्षक पक्का !

दरबन्दी रिक्त नहुँदै शिक्षक पक्का !


 

  • 12.5K
    SHARES
    • कार्तिक ८, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 19.2K Views

    दरबन्दी रिक्त नहुँदै शिक्षक पक्का !

    दाङ,कात्तिक ८ ।       
    घोराही साहिपुर स्थित बराह प्राविका शिक्षक बिष्णु प्रसाद रेग्मी २०७८ चैत १९ मा अनिवार्य अबकाश पाउँदैछन् । उनले अवकाश पाएपछि उनको दरबन्दी रिक्त हुन्छ । अनि उक्त रिक्त दरबन्दीमा नयाँ शिक्षकको पदस्थापन हुनु पर्ने हो । तर घोराही उपमहानगरपालिकाको कार्यपालिक बैठकले रिक्त नहुँदै शिक्षक रेग्मीको दरबन्दीमा अर्का शिक्षकको पदस्थापन गर्ने निर्णय गरिसकेको छ । गत भदौको कार्यपालिका बैठकले रेग्मीको अवकाश पछि उनको स्थानमा प्रावि कर्मकोटका शिक्षक निमा कालाथोकीलाई पठाउने निर्णय गरिसकेको छ । उपमहानगरका अनुसार अब कालाथोकी बाहेक रेग्मीको अवकाश पछि हुने रिक्त दरबन्दीमा अरु कोहि शिक्षक जान पाउँदैन । नगर शिक्षा शाखा भन्छ ‘उहाँ ( निमा कालाथाोकी)को सरुवा फिक्स भैसक्यो, अब उहाँ बाहेक रेग्मीको स्थानमा अरु कोहि जान पाउँदैन ।’ कारणबस् कालाथोकी जाने अवस्था नभए के हुन्छ नि ? नगर शिक्षा भन्छ ‘त्यो बेला मात्रै अर्को शिक्षकको बारेमा निर्णय हुन्छ ।’
    घोराही ६ स्थित जयशेर माविका राहत शिक्षक वामा घिमिरेले पनि चैतमा शिक्षक पेशा छोड्दै छिन् । आफ्नो राहत दरबन्दी सहित शिक्षण पेशा नै छोड्न लागेको भन्दै उपमहागनरले उनको स्थानमा पनि अर्का एक राहत शिक्षकलाई पदस्थापन गर्ने निर्णय गरिसकेको छ । उनको स्थानमा अर्को बिद्यालयका राहत शिक्षक डम्बर गौतम राहत दरबन्दी सहित जाने निर्णय घोराही नगरको कार्यपालिका बैठकले गरिसकेको छ । 
    शिक्षा ब्यवस्थापनका लागि प्राप्त अधिकार प्रयोग गरेको घोराही उपमहानगरको शिक्षक व्यवस्थापनको यो शैलीले भने शिक्षा नियमावलीलाई चुनौती दिईरहेको छ । शिक्षा नियमावली अनुसार पद रिक्त भैसकेपछि मात्रै उक्त पदमा नयाँ शिक्षकलाई पदस्थापन गर्नु पर्ने उल्लेख छ । शिक्षा नियमावलीमा भनिएको छ ‘कुनै ब्यक्ति वा शिक्षकलाई रिक्त शिक्षक दरबन्दी नरहेको बिद्यालयमा नियुक्ती वा पदस्थापन गर्नु हुँदैन ।’ 
    तर घोराही उपमहानगरपालिकाले भने शिक्षक बहाल भएकै पदमा अवकाशको मिति हेरेर अहिले नै पदस्थापन गर्ने निर्णय गरिसकेको छ । ‘उहाँहरु बाहेक अरु उक्त पदमा जान पाउने भनेपछि त उहाँहरुलाई उपमहागरले पदस्थापन गरिसकेको भन्नु पर्यो नि,’ एक पूर्व शिक्षकले भने ‘यो त बाबु कहिले मर्लान् र सम्पत्ति खान पाईएला ? भन्ने मानसिकताले गरिएको निर्णय जस्तै भयो नि ।’
    घोराही उपमहानगरपालिका शिक्षा शाखाका अधिकृत नारायण पौडेलले यसलाई स्थानीय सरकारको अधिकारको बिषय भएको बताए । तर शिक्षा नियमावलीले यो बिषयमा नबोलेको पनि उनले स्वीकारे । 
    ‘सरोकारवाला पक्ष शिक्षक संगठनहरुको सहमतीमा शिक्षा समिति र घोराही नगरको नगर कार्यपालिका बैठकले निर्णय गरेको हो,’ पौडेलले भने ‘यो अधिकार स्थानीय तहले शिक्षा ब्यवसथापनको अधिकार अन्तर्गत प्रयोग गरेको हो ।’ पद रिक्त नहुँदै शिक्षक पदस्थापन गर्न मिल्छ त ? पौडेलले भने ‘पाउने नपाउने भन्दा पनि व्यवहारिकतालाई हेरेर पनि नगरकार्यपालिकाले यो निर्णय गरेको होला ।’
    दरबन्दी रिक्त नहुँदै शिक्षक पक्का गरिसकेको घोराही उपमहानगरपालिकाले आगामी चुनावलाई लक्षित गरेर यो निर्णय गरेको जानकारहरु बताउँछन् । स्थानीय तहको वर्तमान जनप्रतिनिधिहरुको कार्यकाल अन्तिम तिर छ । फलतः उनिहरुले आफ्नो कार्यकालमै शिक्षकहरुको सरुवा तथा पदस्थापन गर्ने नियतले चैत सम्मको पदस्थापनको निर्णय अहिले नै गरिसकेका छन् । ‘अब स्थानीय तहहरुको वर्तमान कार्यकाल अन्तिम अन्तिममा छ, फलतः पहिल्यै नै निर्णय गरेर शिक्षकहरुलाई अन्तिम सम्म पदस्थापन गर्ने रणनीति जनप्रतिनिधिहरुको हो,’ एक शिक्षकले भने ‘नत्र चुनावी आचारसंहिताले उनिहरुलाई अन्तिम सम्म यो निर्णय गर्न दिँदैन, फलतः पहिलेकै निर्णय देखाएर पदस्थापन गर्ने चलाखी अपनाईएको हो ।’
    सुनाली प्रावि दम्तिमा कार्यरत शारदा ज्ञवाली आगामी पुष ११ मा मावि रझेनामा पदस्थापन हुने पक्कापक्की भैसकेको छ । उपमहानगर ज्ञवालीलाई पदस्थापन गर्नका लागि पुस ११ मा बासुदेव सुवेदीको अनिवार्य अवकाश पर्खेर बसिरहेको छ । सुवेदीले अवकाश पाएपछि उनको स्थानमा ज्ञवालीलाई पदस्थापन गर्ने निर्णय कार्यपालिकाले गरिसकेको छ । 
    नगर कार्यपालिकाले ७१ जना शिक्षकको पदस्थापन तथा सरुवाको निर्णय गरेको छ ।  पद रिक्त नहुँदै भविष्यमा हुने रिक्त पदका लागि उपहानगरले शिक्षक तयार पारेर बसेको छ । पद रिक्त नहुँदै पदस्थापनको निर्णय गरिएका शिक्षकहरु ११ जना छन् ।
    शिक्षक पदस्थापनका लागि अन्य शिक्षकहरुको अनिवार्य अवकाशको तिथि कुरेर बसेको घोराही उपमहानगरले अवकाशको मिति तय नभएकै शिक्षकहरुको अवकाशको बाटो समेत हेरेको छ । ति शिक्षकहरुको अवकाश हुनासाथ नयाँ शिक्षकको पदस्थापन गर्ने भनेर उपमहानगरले शिक्षक तोकिसकेको छ ।  
     
    सीता गैरे हाल प्रावि श्रीचौरमा कार्यरत शिक्षक हुन् । घोराही उपमहानगरले उनको पदस्थापन हुने बिद्यालय गंगा मावि रामपुर तोकिसकेको छ । तर त्यहाँ एक शिक्षकको पद रिक्त भएमा उनको पदस्थापन हुने घोराहीको निर्णय छ । घोराही नगरको नगरकार्यपालिका बैठकले गंगा मावि रामपुरमा कार्यरत कमला भट्राईको स्थानमा गैरेलाई पदस्थापन गर्ने भनेको छ । तर भट्राईको अवकाशको मिति एकिन नगरलाई छैन । ‘कमला भटराईको दरबन्दी रिक्त भएमा’ उल्लेख गरेर घोराही नगरले गैरेको पदस्थापन गंगा मावि रामपुरमा तोकिदिईसकेको छ । 

    images

    शिक्षक महासंघका अनुसार घोराही उपमहानगरले पद रिक्त नहुँदै शिक्षकहरुको पदस्थापनको निर्णय गर्नु ठिक नभएको बताउँछ । ‘दरबन्दी रिक्त भएपछि मात्रै फल्नो शिक्षकलाई पदस्थापन गर्नु पर्ने हो,’शिक्षक महासंघका एक प्रतिनिधिले भने ‘शिक्षा नियमावलीलाई चुनौती दिने काम यहाँ भएको छ ।’ उनका अनुसार स्थानीय तहले आफ्नो नियमावली बनाएर यसरी दररबन्दी रिक्त नहुँदै पदस्थापन तथा सरुवाको निर्णय गरेको हो । तर स्थानीय तहलाई संघीय कानुन संग बाझिने गरि कानुन निर्माण गर्न पाउने अधिकार छैन । 
    ‘संघीय कानुनलाई बाझेर स्थानीय तहलाई कानुन बनाउन पाउने अधिकार रहन्न,’ जिल्ला शिक्षा समन्वय एकाई दाङका प्रमुख मित्र गौतमले भने ‘तर उहाँहरुले कसरी यसो गर्नु भयो ? यसरी पहिल्यै निर्णय नगरेको भए राम्रो देखिन्थ्यो ।’ उनका अनुसार नगर कार्यपालिकाको यो निर्णयमाथि शिक्षा समन्वय एकाइले निगरानी राख्न मिल्दैन । ‘उहाँहरुले दरबन्दी खाली नभएकै स्थानमा शिक्षक पठाएको खण्डमा हामीले हेर्ने हो,’ गौतमले भने ‘तर अहिले उहाँहरुले नपठाईसकेका कारण हामीहरुले यो बिषयमा बोल्न मिल्दैन ।’

     


    तेस्रो आँखा